बैतडी,१९असार बैतडीको पाटन नगरपालिका–६ स्थित श्रीकृष्ण माविका शिक्षक धनबहादुर विष्टको हत्या घटनामा एक दम्पतीको संलग्नता पुष्टि गर्दै जिल्ला अदालतले जन्मदकैदको फैसला सुनाएको छ ।
शिक्षक विष्टको हत्यामा संलग्न पुचौडी नगरपालिका–३ का २३ वर्षीय प्रजा बोहरालाई जन्मकैद र उनकी २२ वर्षीया श्रीमती विमलालाई ६ वर्ष कैदको फैसला सुनाइएको हो । बैतडी जिल्ला अदालतका न्यायधीश जयानन्द पनेरुको इजलासले प्रजालाई २५ वर्षका लागि जन्मकैद र उनकी श्रीमती विमलालाई ६ वर्ष कैद सजाय सुनाएको हो । प्रजालाई मुलुकी अपराध संहिता २०७४ को दफा १७७ (२) बमोजिम जन्मकैद र मतियार देखिएकी विमलालाई अपराध संहिता २०७४ को दफा ३६ (३) (ख) बमोजिम ६ वर्ष कैद सजायको फैसला भएको बैतडी जिल्ला अदालतका श्रेस्तेदार जनकसिंह बोहराले जानकारी दिनुभयो । सुर्नया गाउँपालिका–२ घर भएका ५५ वर्षीय शिक्षक गत पुस २ गते श्रीकृष्ण माविको छात्रावास पछाडि मृतावस्थामा भेटिएका थिए । शिक्षकको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले बोहरा दम्पतीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले पुस ७ गते पत्रकार सम्मेलन गरी उनीहरूलाई सावर्जनिक गरेको थियो ।
दुवैजनाविरुद्ध बैतडी जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दामा दुईपटक म्याद थपेर अनुसन्धान गरिएको थियो । त्यसपछि पुस अन्तिम सात दुवै जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको थियो । श्रीकृष्ण माविमा कम्प्युटर डिप्लोमा चौथो वर्षमा अध्ययन गरिरहेकी विमला छात्रावासमा बस्दै आएकी थिइन् । उनका श्रीमान् पनि भेटघाटका लागि पाटन पुगेर छात्रावासमै बसेका थिए । छात्रावासमै बस्दै आएका शिक्षक विष्टले पुस १ गते राति पौने १० बजे शौचालय गएकी विमलालाई अँगालो हाली दुर्व्यवहार गरेको प्रजाले देखेको र त्यसपछि आक्रोशित भएका उनले विष्टको छाती, मुखमा हिर्काउँदै छात्रावासबाहिर ल्याई थप कुटपिट गरी हत्या गरेको प्रजाले प्रहरीसमक्ष बयान दिएका थिए । विष्टको मृत्यु भएपश्चात् शवलाई प्रजा र विमलाले केत्तुकेको झारीमा फालेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।
नरेश नायक ।