बैतडी- बैतडीका १० मध्ये ९ स्थानीयतहले अगामि आर्थिक वर्ष २०८०।८१को बजेट ल्याएका छन् । चारओटा नगरपालिका र ६ ओटा गाउँपालिका गरी १० ओटा स्थानीय तह रहेको बैतडीमा ९ओटा स्थानीय तहहरुले आगामी आर्थिक बर्षका लागि बजेट ल्याएका छन् ।
जिल्लाको दशरथचन्द नगरपालिकाले आगामी आर्थिक बर्षका लागि ८२ करोड १७ लाख ३८ हजार बराबरको बजेट ल्याएको छ । उपप्रमुख कौशिला चन्दले आगामी आर्थिक बर्षको बजेट नगरसभामा पेश गरेकी हुन् ।
नगरपालिकाले आर्थिक विकास, भौतिक पूर्वाधार, सामाजिक विकास, सुशासन लगायतका क्षेत्रमा बजेट विनियोजन गरेको नगरपालिकाका प्रवक्ता अजबहादुर पाण्डेले जानकारी दिए ।
नगरपालिकाले पूँजीगततर्फ ११ करोड विनियोजन गरेको छ भने चालु खर्चतर्फ १३ करोड ४० लाख २८ हजार ८८९ रुपैंया बजेट विनियोजन गरेको छ । यस्तै आर्थिक विकासतर्फ ७५ लाख विनियोजन गरेको नगरपालिकाले सामाजिक विकासतर्फ ४ करोड ६० लाख विनियोजन गरेको छ ।
यस्तै पूर्वाधार विकासतर्फ १ करोड ६६ लाख विनियोजन गरेको नगरपालिकाले वातावरण तथा विपद् व्यवस्थापनतर्फ ५० लाख विनियोजन गरेको प्रवक्ता पाण्डेले बताए ।
यस्तै पुर्चौडी नगरपालिकाले अगामी वर्षका लागि ६४ करोड ५४ लाख ११ हजार बजेट ल्याएको छ । नगरपालिकाले पूर्वाधार, कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट ल्याएको बताएको छ ।
नगर सभामा आइतबार बजेट प्रस्तुत गर्दै उपप्रमुख मीना धानुकले सामाजिक विकास र सुशासनलाई प्राथमकितामा राखेको बताइन् ।
पुर्चौडी नगरपालिकामा सामाजिक विकास तर्फ ८ करोड ५० लाख, वन बातावरण तथा विपद् व्यवस्थापन तर्फ ५० लाख, सुशासन तथा संस्थागत विकास तर्फ ९ करोड, पूर्वाधार विकासतर्फ ७ करोड र आर्थिक विकास तर्फ एक करोड विनियोजन गरिएको छ ।
यस्तै पाटन नगरपालिका आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि ६३ करोड बढीको बजेट ल्याएको छ । आइतबार नगर उपप्रमुख कमलसिंह बोहराले नगर सभामा ६३ करोड ५३ लाख ६२ हजार २१० रुपैँया बराबरको बजेट बजेट प्रस्तुत गरेका हुन् ।
पाटनले आगामी आर्थिक वर्षमा शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको बताएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख गौरिसिंह रावलले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखिएको बताए ।
यस्तै मेलौली नगरपालिकाले ४९ करोड ९३ लाख ९७ हजार बराबरको बजेट ल्याएको छ ।
यस्तै बैतडीको शिवनाथ गाउँपालिकाले आगामी आर्थिक बर्षको बजेट सार्बजनीक गरेको छ । अगामी आर्थिक वर्ष २०८०÷८१ का लागि गाउँपालिकाले ३६ करोड ३४ लाख ६७ हजार ९ सयको रुपैँयाको बजेट ल्याएको गाउँपालिकाका प्रवक्ता केशव चन्दले बताए । गाउँपालिका अध्यक्ष कर्णसिँह साउँदले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट गाउँसभामा प्रस्तुत गरेका हुन ।
यस्तै दोगडाकेदार गाउँपालिकाले अगामी आर्थिक वर्षको लागी ५१ करोड ४४ लाख भन्दा बढीको बजेट ल्याएको छ । गाउँपालिकाले अगामी आर्थीक वर्ष २०८०/८१ का लागि ५१ करोड ४४ लाख ४० हजार ४ सयको बजेट ल्याएको गाउँपालिकाका प्रवक्ता दिनेश भट्टले बताए ।
गाउँपालिका उपाध्यक्ष पावर्ती कार्कीले अगामी आर्थिक वर्षको बजेट गाउँसभामा पेश गर्नु भएको छ । गाउँपालिकाले पुराना कार्य्रकमलाई निरन्तरता दिएर शिक्षा स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेको गाउँपालिकाका प्रवक्ता भट्टले बताए ।
यस्तै बैतडीको पञ्चेश्वर गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ३८ करोड ७३ लाख ७२ हजार २ सय बराबरको बजेट ल्याएको छ । आगामी आर्थिक बर्षका लागि अनुमानित बजेट गाउँसभामा पेश गरेको गाउँपालिका उपाध्यक्ष बीना भट्टले जानकारी दिइन् ।
गाउँसभामा नीति तथा कार्यक्रम र बजेट पेश गर्दै उनले कृषि र विद्युतीकरणलाई पालिकाले प्राथमिकतामा राखेको उनले बताइन् । सभामा प्रस्तुत गरिएको बजेटलाई क्षेत्रगत हिसाबले असार २५ गतेभित्र विनियोजन गरेर पारित गरिने समेत उनले बताइन् ।
यस्तै बैतडीको सिगास गाउँपालिकाले अगामी आर्थिक वर्षको लागी ४३ करोड ८२ लाख बढीको बजेट ल्याएको छ । अगामी आर्थिक वर्ष २०८०÷८१ का लागि सिगास गाउँपालिकाकी उपाध्यक्ष धाना धामीले ४३ करोड ८२ लाख ३१ हजार ८ सय बराबरको बजेट गाउँसभामा पेश गरेकी छिन् । चालुतर्फ ३३ करोड ८९ लाख २४ हजार ८ सय र पूँजीगततर्फ तर्फ ९ करोड ९३ लाख ७ हजार बराबरको बजेट विनियोजन गरिएको उपाध्यक्ष धामीले बताइन् ।
गाउँपालिकाले केही नयाँ कार्यक्रमसहित पुराना कार्यक्रमलाई निरन्तरता दिएर शिक्षा स्वास्थ्य, यातायात र कृषिलाई प्राथमिकतामा राखेको जनाएको छ ।
यस्तै सुर्नया गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ४२ करोड ८ लाख ४२ हजार बराबरको बजेट ल्याएको छ । समानीकरण अनुदान, राजस्व बाँडफाँड, सशर्त अनुदान र आन्तरिक आम्दानी समेत जोडेर बजेट ल्याइएको गाउँपालिकाले जनाएको छ । शनिबार गाउँपालिकाको गाउँसभामा उपाध्यक्ष मञ्जु महरा बोहराले नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् ।
जिल्लाको डिलाशैनी गाउँपालिकाले भने असार १५ गते बजेट ल्याउने जनाएको छ ।
नीति तथा कार्यक्रम सभामा पेश गरेको असार १५ गते बजेट ल्याउने तयारी गरेको डिलाशैनी गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले जानकारी दिए । क्षेत्रगत हिसाबले बाँडफाँड गर्नुपर्ने बाँकी रहेकाले आइतबार सभामा बजेट पेश नगरिएको उनले बताए ।
बजेट ल्याएका कतिपय स्थानीय तहहरुले क्षेत्रगत रुपमा बजेट बाँडफाँड गरिसकेका छन् भने केही स्थानीय तहहरुले डल्लो बजेट ल्याएर असार २५ गतेभित्र बाँडफाँड गरिसक्ने बताएका छन् ।