बैतडी नरेश नायक- बैतडीमा मानव अधिकार उल्लंघनका घट्ना बढ्दै गएका छन् । गएको ६ महिनामा ३४ वटा मानव अधिकार उल्लंघनका घटना भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक बैतडीले जनाएको छ ।
सोमबार जिल्ला प्रशासन कार्यालय, बैतडीमा आयोजना गरिएको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को अर्धवार्षिक समिक्षा गोष्ठिमा ६ महिनामा ३४ वटा मानव अधिकार उल्लंघनका घटना घटेका इन्सेक बैतडीले जनाएको हो ।
इन्सेकका अनुसार जिल्लामा जनवरी देखी हालसम्म पाँच बालिका बलात्कृत भएका छन् भने एक बालविवाहको घटना भएको छ । यस्तै पाँच महिला पनि बलात्कृत भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । एक महिला बहुविवाहबाट पीडित भएका प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यस्तै हत्याका दुई, जातीय विभेदको एक र कुटपीट दुव्र्यवहारका दुई ओटा घटना छ महिनाको अवधिमा भएका इन्सेक प्रतिनिधि नरी बडुले जानकारी दिए ।
कार्यक्रममा जिल्ला न्यायाधीष जयानन्द पनेरु, प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, प्रमुख न्यायाधिवक्त, सशस्त्र प्रहरीका डिएसपी, प्रहरी, कानून व्यवसायी, अधिकारकर्मि लगायत पत्रकारहरुको उपस्थिती रहको थियो ।