बैतडी नरेश नायक– बैतडीमा महिला हिँसाका घटना बढेका छन् ।
पछिल्लो समय घरेलु हिंसाका घटनामा बृद्धि भएको पाइएको छ । अशिक्षा, वेरोजगार, आर्थिक अभाव, लगायत विभिन्न कारणले घरेलु हिंसाका घटनाहरु बढेको बताइएको छ ।
विभिन्न प्रलोभन तथा आश्वासनका कारण महिलाहरु हिंसा खेप्नु परिरहेको बताइएको छ । ग्रामीण भेगका महिलाहरुले त झन घरेलु हिँसा खेप्नु परिरहेको बैतडीकि महिला अधिकारकर्मी तथा मेलौली नगरपालिकाकि निवर्तमान उपाध्यक्ष राधा ओझाले बताइन् ।
उनले भनिन्, “ग्रामिण भेगका महिलाहरु शिक्षा, रोजगार, आर्थिक लगायतका विभिन्न कारणमबाट कमजोर हुन्छन् । त्यसैले महिलाहरु हिंसाको शिकार बन्छन् ।’’
ओझाले हिंसामा परेका महिलाहरुले सहजै न्याय नपाउने गरेको समेत बताइन् । उनले भनिन्, “हिंसामा परेका महिलाहरुले सहज रुपमा न्याय पाउँदैनन् ।
पीडित व्यक्तिको मुद्दा अध्ययन अनुसन्धानमा राजनितिकरण हुन्छ । जसकारण उनीहरुले न्याय सहजै पाउँदैनन् ।’’
अहिले लुकेर रहेका घटनाहरु समेत बाहीर आउँदा हिंसाका घटनाको संख्यामा बृद्धि भएको मानव अधिकारकर्मी शरस्वती नेपालीले बताइन् । बढी जसो बालबालीका तथा महिलाहरु हिंसामा पर्ने गरेको उनले बताइन् ।
उनले भनिन्, “आर्थिक, शिक्षा लगायतको पहुँचमा नपुगेका महिलाहरुले हिंसा खेप्नुपरिरहेको छ । पछिल्लो समय घरमै लुकेर राखिने घटनाहरु पनि बाहीर आएको हुनाले हिंसाका घटनाको संख्या बढेको छ ।’’
कानुन बनेपनि पिडित व्यक्तिले सहजै न्याय नपाउँदा महिलहरुले असुरक्षित रहन बाध्य भएको उनले बताइन् । उनले भनिन, “कानुन बनेपनि महिलाहरु सुरक्षित छैनन्, घरबाट नै उनीहरुलाई असुरक्षा भइरहेको छ ।’’
‘सराब’ले हिंसा बढायो
प्रहरीको तथ्याकं हेर्दा बढी जसो घरेलु हिँसा रहेको पाइएको छ । बैतडी जिल्लाको हकमा रक्सिका कारणले घरेलु हिँसा बढेको देखिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरिक्षक लोकराज जोशिले बताए ।
उनले रक्सिकै कारणले बढी जसो घरेलु हिंसा भएको बताए । उनले भने, “रक्सि पिएर घरमा महिलाहरुलाई कुटपिट गर्ने, गालिगलौज गर्ने, मानसिक तथा शारिरिक यातना दिने लगायतका घटनाहरु आएका छन् । यी घटनाहरुलाई हामीले अनुसन्धान गरेर कानुन बमोजिम कारवाही गर्छौँ ।’’
बढी जसो घरेलु हिंसाका घटनाहरु बढेको बताइएको छ । मदिरा सेवनका कारण घरेलु हिँसामा बृद्धि आएको बताइएको छ । मदिरा खाएर घरमा महिलाहरुलाई शारिरिक तथा मानसिक यातना दिने गरेको बताइएको छ ।
यस्तै सासु–बुहारीमा हुने झै–झगडाका घटनाहरु समेत आउने गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । पछिल्लो चार वर्षमा बैतडीमा २४९ महिला हिंसाका घटना दर्ता भएका छन् ।
२०७६/७७ मा ६१, ७७/७८ मा ६२, ७८/८९ मा ४६ र ७९/८० मा ८० वटा हिंसाका उजुरी दर्ता भएका छन् । अहिले स्थानीय तहमै न्यायीक समिति भएपनि जिल्लामा हिसाका घटनामा बृद्धि भएको हो ।
“हिंसा बढ्नुको कारण अत्याधिक रक्सि सेवन छ भने जनचेतनाको कमीले पनि हिंसा बढेको पाइन्छ । हिंसात्मक घटनाहरुलाई न्युनिकरण गर्न रक्सि सेवन कम गर्नुपर्यो अर्थात सबै स्थानीयतहले आ–आफ्नो क्षेत्रममा जनचेतनामुलक कार्यक्रहरु गर्नुपर्यो त्यसले केही हद सम्म कम हुन्छ, प्रहरी निरिक्षक जोशिले भने ।’’
पछिल्लो समय गाउँ तथा शहरहरुमा साना खोका–टहरा, छाप्रा, किराना पसल, होटलहरुमा सहजै मदिरा विक्रि वितरण हुने गरेको छ ।
अबैध रुपमा गरिने मदिरा विक्रि वितरणलाई स्थानीयतहले बन्देज लगाए हिंसामा पनि कमी आउने सरोकारवालाहरुको भनाइ छ ।