बैतडी– बैतडीको मेलौली नगरपालिका वडा नम्बर ७ की सुनिता चन्द अल्ट्रासाउण्ड गर्न केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र आइन् । गर्भवती रहेकी चन्द ९ महिनाको जाँच गर्न स्वास्थ्य केन्द्रमा आएकि थिइन् । अन्तिम जाँच ९ महिनामा गर्नुपर्ने हुँदा उनी अन्य जाँच संगै अल्ट्रासाउण्ड गर्न स्वास्थ्य केन्द्र पुगेकि थिइन् । तर डा. नभेटिएपनि उनले फर्केर जानु पर्यो । ३÷४ घण्टा पैदल हिनेर आएकी उनले फेरी दोस्रो दिन पनि धाइरहनु पर्यो ।
डाक्टर नभेटिएपछि आफु फिर्ता जानुपरेको उनले बताइन् । उनले भनिन्, “एक दिन गएँ । अरु जाँच त भयो तर अल्ट्रासाउण्ड हुन्न भोली आउनु भन्यो । फेरी भोली पल्ट पनि गएँ अनि अल्ट्रासाउण्ड गरेँ ।’’
केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा आउने बिरामीहरुले सास्ती खेप्नुपरिरहेको छ । गर्भ जाँच गर्न दैनिक स्वास्थ्यकेन्द्र पुगेपछि बल्ल एक दिन डाक्टर भेटिने गरेको गुनासो गरिएको छ । अल्ट्रासाउण्ड मेसिन स्वास्थ्य केन्द्रमा हुनु पर्नेमा मेलौली नगरपालिकाले आफुसगं राखेको छ ।
स्वास्थ्य केन्द्रमा दक्ष जनशक्ति नहुँदा नगरपालिकाले अल्ट्रासाउण्ड मेसिन स्वास्थ्य शाखामा राख्ने गरेको छ । व्यथा लागेर आएका गर्भवती महिलाहरुलाई जाँच गर्न समस्या हुने गरेको स्वास्थ्य केन्द्र केशरपुरले जनाएको छ । अल्ट्रासाउण्ड मेसिन स्वास्थ्य केन्द्रमै राख्न अनुरोध गरे पनि नगरपालिकाले चासो नै नदिएको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीका डाक्टर सञ्जिन केसी बताए ।
उनले अल्ट्रासाउण्ड स्वास्थ्य केन्द्रमा नहुँदा चेक जाँच गर्न समस्या भइरहेको बताए ।
उनले भने, “ अल्ट्रासाउण्ड मेसिन स्वास्थ्य केन्द्रमै राखिदिन भनेर हामिले अनुरोध गर्यौँ तर नगरपालिकाले कुनै चासो नै देखाएन् । चौबिसै घण्टा सेवा दिन सहज त्यसैले यहीँ राख्न अनुरोध गार्यौँ तर नगरपालिकाले दिन चाहेन् ।’’
अल्ट्रसाउण्ड मेसिन रेडियोलोजिष्टले गर्नुपर्ने हो तर केशरपुर स्वास्थ्य केन्द्रमा दक्ष रेडियोलोजिष्टहरु छैनन् ।सामान्य चोकजाँच गर्ने, रगत जमेको वा छैन हेर्न, फास्ट स्क्यान गर्नका लागि हामीले २४ घण्टा सेवा दिन सक्छौँ तर नगरपालिकाले दिन्न यहाँ टाढा–टाढाबाट आउनेहरुले सास्ती खेप्नुपरिरहेका छ, डा. केसीले भने ।
एक्सरे सेवा बन्द
दक्ष जनशक्ति नहुँदा एक्सरे सेवा समेत बन्द छ । एक्सरे सेवा बन्द हुँदा बिरामीहरुले दुख भोगि राख्नु परेको प्राथमिक स्वास्थ्य केन्द्र केशरपुरले जनाएको छ ।

जनशक्ति अभावका कारण उपचार गर्न टाढा–टाढाबाट एक्सरे गर्न आउने बिरामीहरुले फर्केर जानु पर्ने बाध्यता रहेको छ । एक्सरे मेसीन सम्बन्धि ज्ञान नभइ सेवा दिँदा बिरामीहरुलाई झन खतरा हुने गरेको डां केसीले बताए ।
उनले भने, “एक्सरे सञ्चालन गर्नका लागि रोडियो ग्राफर चाहिने हो । रेडियो ग्राफर नहुँदा एक्सरे सेवा दिन सकिरहेका छैनौँ । ज्ञान विना एक्सरे मेसीन चलाउँदा नराम्रो रेडिएसन आउँछ । धेरै समयसम्म रहे शरिरमा खतरा पनि हुन्छ । क्यान्सरको कारण पनि बन्न सक्छ । त्यसैले एक्सरेका लागि रेडियो ग्राफर नभइ नहुने हो ।’’
रेडियो ग्राफर नहुँदासम्म एक्सरे सेवा बन्द रहने केसीले बताए ।
जनशक्ति अभावकै कारण भिडियो एक्सरे, इसिजि मेसीनहरु समेत थन्काएर राखिएको छ । ईसीजी सेवा अति आवश्यक भएपनि जनशक्ति अभावका कारण थन्काएर राख्नुपरेको बताइएको छ ।
मेसीनरी सामग्रि भएपनि दक्ष जनशक्ति नहुँदा विरामीको सेवा प्रवाहमा समस्या भइरहेको बताइएको छ ।
ल्यावमा पनि उस्तै समस्या छ । ल्यावमा कर्मचारी कम हुँदा सेवा प्रभाहमा समस्या भइरहेको हो ।

प्राथकि स्वास्थ्य केन्द्रका पुराना संरचनाहरु समेत जिर्ण हुँदा सेवा दिन समस्या भइरहेको छ । बीरामीको उपचारका क्रममा चाहिने औजारहरु समेत पुराना नै छन् । औजारहरु खिया लागेर काम नलाग्ने भएका छन् । जसले संक्रमणको जोखीम बढेको छ ।

डा. केसीले भने, “बिरामिको उपचारमामा प्रयोग हुने औजारहरु छैनन्। पुराना भएकाले खिया लागेर काम नलाग्ने भएका छन्। खिया लागेकै औजार प्रयोग गर्नुपर्छ । यसले झन संक्रमणको जोम त हुन्छ नयाँ औजार नभएर काम चलाउनु पर्ने अवस्था छ । ’’
बिरामीले पाउने ९८ वटा औषधि समेत प्राथमिक स्वास्थ्य केन्द्रमा उपलध छैन्। निशुल्क पाउने औषधिका समेत बाहिरबाट किन्नुपर्ने बाध्यता रहेको छ ।

औषधि अभाव हुँदा बिरामीलाई बाहिर पठाउनुपर्ने अवस्था रहेको केसीले बताए ।
प्रसुती कक्षको अवस्था विजोग
झन समस्या त प्रसुतीमा भइरहेको छ । गर्भवती महिलाको जाँच गर्ने अल्ट्रासाउण्ड मेसीन मेलौली नगरपालिकाले राखेको छ । स्वास्थ्य केन्द्रमा जाँचका लागि आउने गर्भवती महिलाहरु फर्किने गरेका छन् । बत्ती नहुँदा राति टर्चको भरमा प्रसुति सेवा दिनुपर्ने बाध्यता रहेको अस्पतालले जनाएको छ । प्रसुती कक्षमा एउटा मात्रै बेड हुनुले समस्या भइरहेको बताइएको छ ।

प्रसुती कक्षमा एउटा सोलारको ब्याट्री राखिएको छ तर त्यसले आधा घण्टामात्रै धान्ने गरेको छ । रातिको समयमा टर्चको भरमा सेवा दिनुपरिरहेको स्वास्थ्य केन्द्रले जनाएको छ ।

बीरामीको सेवा प्रवाहलाई सहज बनाउन नगरपालिकासंग दक्ष जनशक्ति र सामाग्रिका लागि पटकपटक आग्रह गर्दा पनि वेवास्ता गरिएको गुनासो गएिको छ । स्वराड क्षेत्रकै रेफरलका रुपमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र केशरपुरको अवस्था दयनिय हुँदा पनि नगरपालिकाको ध्यान जान सकेको छैन् । स्वास्थ्य जस्तो संवेदनशिल ठाउँलाई जनप्रतिनिधिले राजनितिकरण गरेको आरोप समेत लागेको छ ।
तर मेलौली नगरपालिकाले भने नयाँ आर्थिक वर्षमा सबै शाखामा जनशक्तिको पदपुर्ति गर्ने जनाएको छ । नयाँ आर्थिक वर्षको साउनदेखि नै जनशक्तिको पदपुर्ति गर्ने मेलौली नगरपालिकाका नगर प्रमुख भीम चन्दले बताए ।
उनले भने,“संरचनाको पनि समस्या छ र कर्मचारीको पनि अभाव छ । अब यो नयाँ वर्षको साउन १ गतेवाट लागु हुनेगरि विभिन्न विधामा आवश्यक जनशक्ति पदपुर्ति गर्छौँ । स्वास्थ्य केन्द्रले माग गरे अनुसारको आवश्यक सामग्रि उपलब्ध गराउँछौँ ।’’
उनले नया वर्षमा शिक्षा स्वास्थ्य कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्ने बताए । पुराना जिर्ण भवन, पुराना औजार, जनशक्ति अभाव, बत्ती अभावका कारण विरामीको सेवा प्रवाहमा समस्या भइरहेको छ ।