काठमाडौँ–अष्ट्रेलिया भ्रमणमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाही र दक्षिण अष्ट्रेलियाका पुर्व सभामुख र सांसद वीच भेटवार्ता भएको छ। एडिलेडस्थित संसद भवनमा लिवरल पार्टीका तर्फबाट विधान परिषद् सदस्य जिङ्ग ली र लेवर पार्टीका पूर्व अध्यक्ष, विधान परिषद सदस्य रसेल वर्ट्लीबीच बिहिबार भएको भेटघाटमा शाहीले १९६० मा तत्कालीन राजा महेन्द्र र १९८५ मा राजा वीरेन्द्रले अष्ट्रेलियाको भ्रमणपछि दुई देशबीचको सम्बन्धनमा आयाम थपिएको बताए।
नेपाली विद्यार्थीको वृद्वि विकास, शिक्षा र सीप विकासको लागि अष्ट्रेलियाले प्रदान गरेको अवसरप्रति शाहीले आभार व्यक्त गरेका छन्। शाहीले ‘एक पटकका लागि नेपाली सधैँका लागि नेपाली भन्दै अष्ट्रेलियामा रहेका नेपाली दक्ष जनशक्तिलाई नेपाल फर्काउने नीति निर्माणमा आफूहरू लाग्ने पनि बताए। शाहीसमक्ष अष्ट्रेलियामा रहेका नेपाली समुदायले त्यहाँको अनुभवसँगै त्यहाँ जाने नेपालीहरूको पक्षमा नीति निर्माण तहमा गर्नुपर्ने कामबारे जानकारी गराएको शाहीले बताए। भेटमा अष्ट्रेलियाका अधिकारीले नेपालीहरू मिहेनती, इमानदार र बफादार रहेको साथै अष्ट्रेलियाको व्यापार व्यवसाय र आर्थिक विकासमा महत्वपूर्ण भुमिका रहेको भन्दै खुसी व्यक्त गरेका छन्।