काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले त्रिवि प्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने नेविसंघका कार्यकर्तामाथिको मुद्दा फिर्ता लिने मन्त्रिपरिषदको निर्णय सच्याउन माग गरेको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै प्रमुख सचेतक सन्तोष परियारले उपप्राध्यापक चलाउनेलाई न्याय दिन र पीडक नेविसंघका विद्यार्थीहरूलाई दण्डित गर्न सरकारसँग माग गरे ।
त्रिवि समाजशास्त्रका उपप्राध्यापक चलाउनेलाई विश्वविद्यालय परिसरमै मरनासन्न हुने गरी कुटपीट गर्नेहरूलाई कडाभन्दा कडा कारबाही गर्नुको सट्टा उनीहरूमाथि लगाइएको मुद्दासमेत फिर्ता लिने काम गरेर सरकारले अन्याय गरेको भन्दै आक्रोश व्यक्त गरे ।