बैतडी नरेश नायक -बैतडीको शिवनाथ गाउँपालिका ३ पोखरेटीका ४० वर्षीय धनविरसिंह साउँद पेशाले शिक्षक हुनुहुन्छ । उहाँ स्थानीय गर्वेश्वर आधारभुत विद्यालयमा अध्यापन गराउनुहुन्छ । राहत शिक्षकका रुपमा कार्यरत साउँदको दैनिकी बालबालिकालाई पढाउदैंमा जाने गर्दछ ।
विद्यालय समयमा बालबालिकालाई पढाउने गरेपनि धनविरले त्यसपश्चात तरकारी खेतीमा पनि गर्दै आउनुभएको छ । शिक्षण पेशासंगै साउँद व्यवशायिक रुपमा तरकारी खेतीमा आवद्ध रहनुभएको छ । विद्यालय समयपछि उहाँको दैनिकी बारीमै बित्ने गरेको छ । साउँद नमूना कृषकको रुपमा पनि चिनिदै आउनुभएको छ ।
उहाँले व्यवशायिक रुपमा तीनवर्षदेखि तरकारी खेती गदैै आउनुभएको छ । लोभलाग्दो तरिकाले तरकारी खेती गर्दै आउनुभएका साउँदको मनग्य आम्दानी पनि हुने गरेको छ । शिवनाथ गाउँपालिकाले पोलिहाउस, बिषादी,बीउबिजन र प्राधिधिक सहयोग गर्दै आएको छ ।
पोलिहाउसभित्र गरिएको तरकारी खेतीबाटै उहाँले वार्षिक चार लाखसम्म आम्दानी गर्ने गर्नुहुन्छ । हाल उहाँको बारीमा गोलभेडा,बन्दा उत्पादन भएको छ । पोलिहाउसमा लटरम्म फलेका गोलभेडाले सबैको मन लोभ्याउने गरेको छ । संगसंगै रहेको बन्दाको पनि राम्रो उत्पादन भएको छ ।
पाँच रोपनी क्षेत्रफलमा गरिएको तरकारी खेतीबाटै चार लाख कमाई हुने गरेको साउँदले बताउनुभयो । उहाँले भन्नुभयो,“ पेशाले शिक्षक भएपनि त्यसपछिको बचत समय तरकारी खेती गर्दै आएको छु । तरकारी खेतीबाटै मैले वार्षिक चार लाख कमाउने गरेको छ ।”
साउँदले गोलभेडा,बन्दा,बोडी,अदुवा, बेसार खेती पनि गर्दै आउनुभएको छ । पाँच रोपनी क्षेत्रफलमा १३ पोलिहाउस गरि तरकारी खेती गर्दै आएको साँउदले बताउनुभयो । तरकारी खेतीका लागि शिवनाथ गाउँपालिकाले पनि सहयोग गर्दै आएको छ । उहाँले भन्नुभयो,“गाउँपालिकाले पोलिहाउस, बिषादी, बीउबिजन, प्राविधिक सहयोग गर्दौ आएको छ, यसले गर्दा सहज भएको छ । ”
तरकारी खेतीबाटै पाँच जनाको परिवार पाल्न निकै सहज भएको साउँदको भनाई छ । एक छोरालाई स्नातकको पढाईका लागि काठमाडौं समेत पठाउनुभएको छ । उहाँले भन्नुभयो,“शिक्षकको तलबबाटै घरपरिवार पाल्न असहज हुन थालेपछि तरकारी खेती पनि गर्न थालेको हुँ, एक छोरालाई पढाउनकै लागि काठमाडौं पुरयाएको छु ।”
शिवनाथ गाउँपालिकाका अन्य किसानले तरकारी खेतीबाट राम्रै आम्दानी गरेको देखेपछि आफू पनि तरकारी खेतीमा लागेको साउँदले बताउनुभयो । उहाँले भन्नुभयो,“ गाउँका अन्य किसानहरुले तरकारी खेतीबाट मनग्य आम्दानी गरेकाले मलाई पनि तरकारी खेतीमा लाग्न मन लाग्यो, आर्थिक अवस्था पनि कमजोर तलबले सबै आवश्यकता पुरा हुन नसकेपछि तरकारी खेती पनि थाले । अहिले राम्रै भएको छ । ”
धनविरले सिचाइँ सुविधा पर्याप्त नहुँदा, बजार अभाव, यातायात सेवा नहुँदा समेत तरकारी खेती गर्दै आउनुभएको छ । सिचाइँ सुविधा, बजार र यातायातको सुविधा भएपनि तरकारी खेती गर्न अझै सहज हुने साउँदले बताउनुभयो । उहाँले भन्नुभयो,“ सिचाइँ सुविधा नहुँदा खानेपानीले तरकारी सिचाइँ गर्नुपर्ने बाध्यता छ, खानेपानी पनि रातिको समयमा संकलन गर्न ट्याङकी छैन् ।”
बारीसम्म सडक बिस्तार नभएकोले डोकोमा बोकेर सुल्लेखान पुर्याउनुपर्ने बाध्यता रहेको साउँदको भनाई छ । उहाँले भन्नुभयो,“ सडक नहुँदा डोकोमा बोकेर सुल्लेखानसम्म पुर्याउनुपर्दछ , बाह्रैमहिना सञ्चालन हुने गरि सडक बिस्तार भए अझै सहज हुने थियो ।”
कहिलेकाँही उत्पादित तरकारीले बजार नपाउँदा समस्या हुने गरेको साउँदले बताउनुभयो। उहाँले भन्नुभयो,“मेहनत गरेर उत्पादन गरेको तरकारीले बजार नपाउँदा सस्तोमै बेच्नुपर्दछ । स्थानीय बजारमा खपत हुदैंन् । ”
शिवनाथमा उत्पादन भएको तरकारी स्थानीय बजारका साथसाथै जिल्लाको मेलौली,पाटन,सदरमुकाम र जिल्लाबाहिर डडेल्धुरा, कैलाली र कञ्चनपुर समेत पुग्ने गरेको छ । अन्य समयमा तरकारी निर्यात गर्न सुल्लेखानबाट सहज हुने गरेको भएपनि वर्षातको समयमा भने उक्त सडक पनि अवरुद्ध हुने गरेकोले समस्या हुने गरेको छ ।
तरकारी खेती आवद्ध किसानलाई विभिन्न सहयोग गरिदै आएका शिवनाथ गाउँपालिका कृषि शाखा प्रमुख, कृषि अधिकृत ज्योती नायकले बताउनुभयो । उहाँले भन्नुभयो,“यो वर्ष पालिकाभित्रका २६५ जनालाई ८० प्रतिशन अनुदानमा बीउबिजन, बाली संरक्षणका २९९ जनालाई निःशुल्क बिषादी दिएका छौं । साथै ९० प्रतिशत अनुदानका लागि ८८ जना कृषकको पोलिहाउसका लागि निवेदन संकलन भएको छ । ”
कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको र व्यवशायिक किसानलाई अनुदान सहयोग गर्ने गरेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताउनुभयो । उहाँले भन्नुभयो,“ कृषि क्षेत्र हाम्रो पहिलो प्राथमिकता हो । व्यवशायिक किसानलाई हामीले सहयोग पनि गर्दै आएका छौं।”
आगामी वर्षको नीति,कार्यक्रम र बजेटमा पनि कृषकहरुका लागि ‘एकघर एक पोलिहाउस’,कृषि उपज ढुवानीको लागि ‘कृषि एम्बुलेन्स’ सञ्चालनको तयारी भएको अध्यक्ष साउँदले बताउनुभयो ।
गाउँपालिकाभित्र सिचाइँ सुविधा नभएको स्थानमा सिचाइँ,सडक नभएको ठाउँमा सडक बिस्तार पनि क्रमशः गरिदै लगिने साउँदको भनाई छ ।