बैतडी नरेश नायक–डडेल्धुराको भागेश्वर गाउँपालिकाले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि पहल थालेको छ । सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर खस्कदै गएपछि त्यसको सुधारमा लागेको गाउँपालिकाले जनाएको छ ।
पालिकाभरीका ३२ ओटा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसंग करार सम्झौता गरेर शैक्षिक गुणस्तर सुधारका लागि पहल गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भारतीले बताए । उनले भने ‘शिक्षा क्षेत्रमात्रै सुधार गर्न सके धेरै कुरा सुधार हुन्छ । त्यसैले हामीले सामुदायिक विद्यालय सुधारको अभियान सञ्चालन गरेका छौं ।’
सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसंग गरिएको करार सम्झौतामा सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरका लागि आवश्यक बुँदाहरु समेटिएका गाउँपालिकाका शिक्षा शाखा प्रमुख गणेशबहादुर पौडेलले बताए । पालिकाभित्र रहेका सामुदायिक विद्यालयहरुको नियमित अनुगमन समेत भइरहेको उनले बताए ।
गाउँपालिकाभित्र ८ ओटा माध्यमिक विद्यालयहरु रहेका छन् भने २४ ओटा आधारभूत विद्यालयहरु रहेका छन् । गाउँपालिकाका ५ ओटै वडामा रहेका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारमा आफूहरुको ध्यान केन्द्रित भएको गाउँपालिका अध्यक्ष हेमराज चटौतले बताए । उनले भने ‘अहिले हामीले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं । सामुदायिक विद्यालयहरुको गिरेको साखलाई फर्काउने अभियानमा लागेका छौं ।’
सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसंग ३४ बुँदे सम्झौता गरेको गाउँपालिकाले विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुसंग समेत प्रतिबद्धता मागेको छ । विद्यालयहरुको समग्र सुधारका लागि अभिभावकहरुका तर्फबाट प्रतिबद्धता व्यक्त गरिएको प्रमुख प्रशासकीय अधिकृत भारतीले बताए । उनले भने ‘सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा अभिभावकहरुको ठूलो भूमिका हुन्छ । त्यसैले हामीले अभिभावकहरुको प्रतिबद्धता समेत मागेका छौं । विद्यालय सुधारमा अभिभावकहरुको समेत सहयोग मिलेको छ ।’
यस्तै विद्यालयहरुमा सञ्चालनमा रहेका बालविकास केन्द्रहरुलाई सुधारको अभियान सुरु भएको शिक्षा शाखा प्रमुख पौडेलले बताए । बालविकास सहजकर्ताहरुलाई तालिम दिएर मन्टेश्वरी विधिबाट पठनपाठनको व्यवस्था गरिएको उनले बताए ।
सामुदायिक विद्यालयहरुको भौतिक, आर्थिक र शैक्षिक विकासमा जोड दिएको पालिकाले आगामी आर्थिक बर्षमा विद्यालय सुधारका लागि बिशेष योजना ल्याउने जनाएको छ । विद्यालयहरुको समग्र अवस्था सुधारमा अभिभावकहरुको समेत उत्तिकै सहभागिता हुनुपर्ने प्रमुख प्रशासकीय अधिकृत भारतीले बताए ।