हरिश भट्ट काठमाडौँ ः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गर्न आज मेलम्ची पुगेका छन्।
प्रधानमन्त्री प्रचण्डलाई मेलम्चीमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत, बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री युवराज दुलाल, बागमती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेल, मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङलगायतले स्वागत गरेका थिए।
राष्ट्रिय गौरवको आयोजनाको प्रभावकारी सञ्चालन तथा निर्माणमा तीव्रता ल्याउन प्रधानमन्त्री प्रचण्ड स्थलगत अवलोकनमा गएका हुन्। उनको साथमा खानेपानी मन्त्री महिन्द्र राय यादव पनि रहेका छन्। आयोजनाको स्थलगत अवलोकनपछि प्रधानमन्त्रीले त्यहाँका स्थानीय पदाधिकारीसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम छ।