विगत केही महिना अगाडिबाट रुपन्देही जिल्लाको कमाण्ड सम्हालेका एसपी भरत बहादुर विकले नाकामा हुने चोरी पैठारी रोक्न शुन्य सहनशीलता अपनाएकाले त्यहाँका उद्याेगी व्यवसायीहरुले प्रसंशा गरेका छन। खुला सिमानाबाट हुने तस्करीलाई ग्राउण्ड जिरोमा झार्नका साथै जिल्लाको शान्ति सुरक्षाका लागि अहोरात्र खटिएका एसपी भरत बहादुर विकले नेपाल प्रहरी संगठनको साख जोगाउन सफल भएका हुन । पछिल्लो समय भैरहवा भन्सार कार्यालयले गरेको कडाईमा सबै पक्षले एक्यवद्धता जनाउंंदै यसलाई निरन्तरता दिनुपर्ने बताएका छन् । केहीपक्षबाट भन्सारमा सर्वसाधारणलाई लाईनमा राख्ने कार्य अव्यवहारिक भएको भन्ने गुनासा आएसंगै यस विषयमा रायसुझाव लिने उद्देश्यले राजश्व चुवावट नियन्त्रण समितिले सबै पक्षलाई समेटेर बैठक डाकेको थियो ।
भन्सारमा राजश्वमा गरिएको कडाईलाई लिएर भारतीय बजारमा गलत प्रचार गर्ने, नेपाली उपभोक्तालाई भारतीय बजारमा रोक लगाएका जस्ता भ्रमपुर्ण हल्लाहरु चल्न थालेपछि यसलाई स्पष्ट पार्न जरुरी रहेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए । उनले भने “हामीले उपभोक्ता लाई रोकेका हाईनौं कानुन सम्वत भन्सार शुल्क बुझाउनुस मात्र भनेका हौं ।”

बैठकमा सिमा जोडिएका पालिकाका प्रमुखहरुले सिमानाकामा हुनसक्ने अवैध चोरी पैठारी रोक्न स्थानीय सरकार प्रतिवद्ध रहेको बताएका छन् । सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खानले सरकारको मुख्य आम्दानी रहेको राजश्व चुवावट नियन्त्रणमा सबै लाग्नुपर्ने बताए । राजश्व कम हुँदा देश आर्थिक संकटमा जाने भएकोले प्रत्येक व्यति राष्ट्रप्रति वफादार बन्नु पर्ने र सिद्धार्थनगर यसमा साथ रहने प्रमुख खानको भनाई थियो ।रोहिणी गाउंपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले नेपाल सरकारले किसानलाई समयमा मलखाद उपलब्ध गराउन नसक्दा किसानप्रति निर्मम बन्न नसकिएको बताए । रोहिणी गाउँपालिकाको भगवानपुरमा भन्सार सुविधा नहुँदा तस्करी रोक्न समस्या भएको उनले बताए । भगवानपुरमा छोटी भन्सार स्थापना गर्न भैरहवा भन्सार कार्यालयलाई अनुरोध गरे । यस्तै सम्मरीमाई गाउँपालिकाका अध्यक्ष विनोद कुमार श्रीवास्तवले सम्मरीमाई गाउँपालिका भारतसँग सिमा जोडिएको पालिका भएका कारण व्यवहारिक रुपमा चोरी पैठारी रोक्न कठिनाई भएपनि त्यसप्रति पालिका कटिवद्ध रहेको बताए ।
किसानहरुले थोरै मात्रामा मलखाद ल्याएपनि ठुला तस्करीहरु नभएको जिकिर गरे । यस्तै नीजि क्षेत्रका विभिन्न उद्योग वाणिज्य संघका अध्यक्ष तथा प्रतिनिधिहरुले चोरी तस्करी रोक्न रुपन्देही प्रहरी प्रमुखहरुले देखाएको सक्रियता प्रशंसायोग्य रहेको बताए । भन्सारमा एक सय रुपैंया भन्दा बढीको प्रज्ञापन भर्न लगाउने र चोरी तस्करी नियन्त्रणमा प्रहरीको सक्रियताले नेपाली व्यवसायीहरुमा उत्साह जागेको प्रतिक्रिया दिए । उद्योग वािण्ज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्मा, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य महेन्द्र कुमार श्रेष्ठ, बुटवल तथा भैरहवाका विभिन्न उद्योग वाणिज्य संघका अध्यक्षहरुले यसलाई निरन्तरता दिनुपर्ने बताए ।
कार्यक्रममा लुम्बिनी प्रेस क्लबका अध्यक्ष सम्झना शर्माले सामान खरीद गर्दा अनिवार्य उपभोक्तालाई विल उपलब्ध गराउनु पर्ने, भन्सारमा यात्रुहरुको सुविधाका लागि अनलाईन भुक्तानीको व्यवस्था गनुपर्ने, नेपाली बजारमा भएको अस्वभाविक मुल्यबृद्धिका सम्बन्धमा प्रभावकारी अनुगमन गर्नुपर्ने लगायतका सुझाव राखिन् ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरिक्षक भरत बहादुर विक, सशस्त्र प्रहरी उपरिक्षक दिपक थापा, भैरहवा भन्सार एजेण्ट संघका अध्यक्ष मधु पन्थी, सामाजिक अभियान्ता प्रख्यात बन्जाडे लगायतका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले आ-आफ्ना भनाई राखेका थिए । कार्यक्रममा भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम पौडेलले तथ्यमा रहेर चोरी तस्करीका समाचार संप्रेशण गर्न संचारकर्मीहरुलाई समेत सुझाव दिए । कतै अधैव सामान आयात भएको सुचना पाए सम्बन्धीत निकायलाई खबर गर्न उनले अनुरोध समेत गरे । जनरक्षा