सेती प्रादेशिक अस्पतालमा स्वास्थ्य जनशक्तिको अभाव छ। सरकारबाट ५० शय्याको स्वीकृति पाएको सेतीमा दरबन्दीअनुसार जनशक्ति छैनन्। सेती अस्पताल सरकारले बनाएको मापदण्ड विपरीत सञ्चालन भइरहेको छ। प्रदेश सरकारले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड मिचेर अस्पताल चलाइरहेको छ। सेती प्रादेशिक अस्पताल अहिले ३२५ शय्यामा सञ्चालन भइरहेको छ। सरकारले ५० शय्याको मात्रै स्वीकृति दिएको छ।
अन्यत्र कतै अभ्यासमा नरहेको व्यवस्थापन समितिले ७५ शय्या सञ्चालनको स्वीकृति दिएको छ। त्यसैअनुसार जनशक्ति पनि व्यवस्थापन गर्न खोजिएको छ। अस्पताल सञ्चालनको पुरानो मापदण्डअनुसार सेतीमा ५० शय्याका लागि १०६ जनाको दरबन्दी छ। तर, यो दरबन्दीमा पनि सबै जनशक्ति अस्पतालमा छैन।
अस्पतालमा जनशक्तिको अभाव रहेकाले सेवा प्रवाहमा समस्या भइरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर शाहले बताए। ‘सेती अस्पतालमा दैनिक एक हजारभन्दा बढी बिरामी आउने गर्छन्। तर, हामीसँग सिमित स्रोत साधन छ,’ उनले भने, ‘५० शय्याको स्वीकृत दरबन्दीमा ३२५ शय्या चलाउनु परेको छ। प्रदेश सरकारले नयाँ बजेटमा जनशक्तिको व्यवस्था नगरे धेरै जसो सेवा बन्द गर्नुपर्ने देखिएको छ।’