अर्थमन्त्री प्रकाशशरण महतले यसवर्षको बजेटमा केही महत्वपूर्ण कुराहरू समेटिएकै कारण प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई घण्टा समय दिएर भाषण गरेको बताएका छन्।
सोमबार प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि उठेका प्रश्नको जवाफ दिनेक्रममा अर्थमन्त्री महतले महत्वपूर्ण कुराहरू समेटिएकाले ओलीले दुई घण्टा भाषण गरी टिप्पणी गरेको बताएका हुन्।
उनले यस बजेट छलफलको विषयमा समर्थन गर्ने, आलोचना, समालोचना, टिप्पणी गर्नेहरूलाई बधाई दिएका थिए।
त्यसपछि उनले भने, ‘स्वयम् विपक्षी दलका नेता पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीज्यूले मैले प्रस्तुत गरेको तीन घण्टाको बजेटमा उहाँले झन्डै दुई घण्टाको टिप्पणी यस विषयमा गर्नुभयो। यसबाट मैले के महसुस गरेको छु भने यो बजेट जुन आएको छ जेठ १५ गते केही महत्वपूर्ण कुरा छन्। यसले नयाँ कुराहरू अगाडि बढाउन कोशिस गरेको छ। हैन भने स्वयम् विपक्षी दलका नेता उभिएर दुई-दुई घण्टा समय दिनुहुँदैन थियो भन्ने मलाई लागेको छ।’
ओलीले यस बजेटमाथि टिप्पणी गर्न दुई घण्टाको समय दिएकाले पनि यो महत्वपूर्ण रहेको उनको भनाई थियो।