राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि लक्षित गर्दै देशका नदीनालाहरू भारतलाई सुम्पिएको आरोप लगाएका छन्।
पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक संगठनले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नदीनालाहरू भारतलाई सुम्पिएर उपलब्धी ठानेको बताएका हुन्।
‘देशका नदीनालाहरू विदेशीलाई जिम्मा लगाउन पाउँदाखेरी उपलब्धी ठान्न थालेका छन्। आफ्नो भ्रमणको मुखैमा, आफ्नो देशको भूभाग समेत अंकीत गरेर छिमेकीले आफ्नो नक्शामा प्रकाशित गर्दाखेरी यो किन भयो भनेर प्रश्न गर्न नसक्नेहरूको हातमा आज देशको नेतृत्व छ,’ उनले भने।
उनले देश संकटमा परेको जिकीर गर्दै त्यसको सुरक्षाका लागि आन्दोलनमा आउन पनि भूतपूर्व सैनिकहरूलाई आह्वान गरे।
‘तपाईहरूले दुःख गरेर, सुरक्षा गरेर जोगाएको देश भोली तपाईको भावी सन्ततिले देख्न नपाउने खतराहरू बढेर गएको छ। त्यसैले पनि नेपालमा राजा चाहिन्छ, हिन्दु राष्ट्र चाहिन्छ,’ उनले भने, ‘यो संघीयता खारेज हुनुपर्छ भन्ने चाहना राख्नुहुन्छ भने त्यो मानिसका लागि अर्को कुनै पार्टी छैन। अर्को कुनै विकल्प छैन।’