काठमाडौं । पछिल्लो एक वर्ष नेपालको पुरुष फुटबलमा खेलाडी पलायनको समस्याले विकराल रुप लिएको छ । त्यसले घरेलु प्रतिस्पर्धा खल्लो मात्र भएको छैन, राष्ट्रिय टिमकै सन्तुलनमा असर परेको छ ।
फुटबलमा मात्र होइन, तेक्वान्दो, कराते, बक्सिङजस्ता मार्शल आर्ट खेलकुदमा पनि पलायनको समस्या उस्तै छ । पुरुष क्रिकेटले चामत्कारिक प्रदर्शन गरिरहँदा महिला क्रिकेटमा भने खेलाडी पलायनको समस्या सुरु भएको छ ।
उमेरसमूह हुँदै राष्ट्रिय टिमबाट खेलिरहेका डली भट्ट, सुमन खतिवडा, आरती विडारीलगायतका खेलाडीहरु पलायन भएका छन् । भलै उनीहरुले विदेशमा गएर पनि आफूलाई मनपर्ने खेल क्रिकेटलाई निरन्तरता दिइरहने भनेका छन् ।
महिला क्रिकेट टिमले हालै मलेसियासँग पाँच टी–२० खेलको शृंखला ३–२ ले जितेको छ । मलेसियासँग दुई खेलमा पराजित हुनु पनि नेपाल क्रिकेटका लागि सकारात्मक संकेत होइन । यस शृंखला जितले युवा क्रिकेटरलाई आकर्षित गर्ने अपेक्षा गरिन्छ ।
तर, प्रतिभा भएका केहि खेलाडीहरु पलायन भइसके भने केही भिसाको प्रतीक्षामा छन् । पुस्तान्तरणको चरणमा रहेको महिला टिममा यसको असर देखिनेछ ।
१३ वर्षको करिअरमा चितवनकी आरती विडारीले दुईवटा अन्तर्राष्ट्रिय प्रतियोगितामा अवसर पाइन् । सन् २०१० मा यू–१९ टिमबाट देशको प्रतिनिधित्व गरेकी उनले सन् २०१९ मा आईसीसी महिला विश्वकप एसिया छनोट खेलेकी थिइन् । अवसर नपाउँदा विदेशिनु परेको उनको गुनासो थियो ।
‘नेपालमा प्रदर्शन हुँदा अवसर पाइएन । राष्ट्रिय टिममा क्याम्पमा बोलाइने तर २ दिनको प्रशिक्षणबाटै बाहिरिनुपर्ने बाध्यता लामो समयसम्म रह्यो’, प्रतियोगिता कम हुने र भएकोमा पनि अवसर नपाएकोमा आरती निराश थिइन् ।
उनले अस्ट्रेलियाको सिड्नी युनिभर्सिटी टिमबाट क्रिकेट खेल्न थालेको बताइन् । आरतीले सन् २०१४ मै लेभल टू प्रशिक्षण कोर्स गरिसकेकी छिन् । उनी नेपालमा खेलाडीले अवसरको माग गर्दा धेरै हण्डर व्यहोर्नुपरेको बताउँछिन् ।
‘म विदेशी भूमिमा आफ्नो क्रिकेटको रहर पूरा गर्दैछु तर अझै पनि मलाई नेपाली क्रिकेटमा व्यवस्थापकीय भूमिकामा भएर पनि सहयात्री बन्न मन छ,’ उनले थपिन् ।
एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त नेपालको पुरुष टिमले निश्चित रुपमा धेरै प्रतियोगिता, खेल तथा एक्स्पोजर पाउँछ । महिला टिम भने वर्षमा बढीमा दुई घरेलु प्रतियोगिता र एक अन्तर्राष्ट्रिय प्रतियोगितामा सीमित हुनुपरेको छ ।
onlinekhabar