गेटामा सहिद दशरथ चन्दा राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको माग गर्दै धनगढीमा विद्यार्थीले जुलुस निकालेका छन्।
मङ्गलवार बिहान विश्वविद्यालय स्थापना गर्न दबाब दिन धनगढीको एसपिए कलेजका विद्यार्थीले जुलुस निकालेका हुन्। गेटामा विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समितिको आह्वानमा धनगढीको एसपिए कलेजबाट निकालिएको जुलुस ट्राफिक चौराहामा पुगेर कोणसभामा परिणत भएको थियो। जुलुसमा धनगढीका अन्य कलेजका विद्यार्थीहरूको पनि सहभागिता रहेको थियो।
कोणसभामा बोल्दै विद्यार्थीहरूले गेटामा विश्वविद्यालय स्थापना गर्न सरकारलाई आग्रह गरेका छन्। उनीहरूले स्वास्थ्य शिक्षा र उपचारमा सुदूरपश्चिमवासीको पहुँच बढाउन गेटामा विश्वविद्यालय स्थापना गरिनुपर्ने बताएका छन्।