काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले हालै प्रमाणित गरेको नागरिकता विधेयकमाथि परेको मुद्दाको रिटमा आज सुनवाइ हुँदैछ ।
राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयक असंवैधानिक भएको भन्दै वरिष्ठ अधिवक्ताद्वय बालकृष्ण न्यौपाने र सुरेन्द्र भण्डारी दर्ता गरेको रिटमा आज सर्वोच्च अदालतमा सुनवाइ हुन लागेको हो । सो रिट गत शुक्रवार दर्ता भएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा निस्कनु अघि राष्ट्रपति पौडेलबाट प्रमाणीकरण गरेका विधेयक असंवैधानिक भएकाले लागू नगर्न–नगराउन अन्तरिम आदेशसमेत माग गरिएको छ। अघिल्लो संसदले बहुमतले पारित गरेको उक्त विधेयक प्रधानमन्त्री प्रचण्ड भारत जाने दिनमा राष्ट्रपति पौडेलले प्रमाणित गरेका थिए ।
तत्कालीन सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय, शीतल निवासमा पठाएको भए पनि निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले सो विधेयक प्रमाणित गरेकी थिइनन् ।
पहिलो पटक पठाउँदा राष्ट्रपति भण्डारीले संघीय संसद् सचिवालयलाई १५ वटा प्रश्न सोधेर फिर्ता गरे पनि त्यसको कुनै जवाफ नदिई कांग्रेस–माओवादी गठबन्धनले बहुमतको आधारमा पुनः प्रमाणीकरणका लागि दोस्रो पटक पुनः सो विधेयक शीतल निवास पठाइएको थियो ।
त्यसपछि पनि प्रमाणित हुन नसकेको सो विधेयकलाई राष्ट्रपतिले जेठ १७ गते प्रमाणित गरे पछि विवादको घेरामा परेको छ ।
नयाँ संसद् आइसकेको अवस्थामा पुरानो संसदले पठाएको विधेयक प्रमाणीकरण गरेको भन्दै संसद् लगायत नागरिक समाजले राष्ट्रपतिको उक्त कदमको विरोध गरिरहेका छन् ।
सोही कदमको विरोधमा शुक्रवार दर्ता भएको रिटमा आज सुनवाइ हुन लागेको हो ।