काठमाडौं । राष्ट्रपतिबाट आममाफी पाएर छुटेपछि गृह जिल्ला कैलाली पुगेका रेशम चौधरीलाई डीएसपी उद्धवसिंह भाटले दौडिँदै स्वागत गर्न पुगेको भिडिओ केही दिनयता सामाजिक सन्जाल टिकटकमा भाइरल छ ।
कैलालीको टीकापुरमा ८ वर्षअघि एसएसपीसहित ७ प्रहरी र केही सर्वसाधारण मारिएको घटनामा तीनवटै तहका अदालतले दोषी ठहर भएका चौधरीलाई बाँकी सजाय माफी दिइएकोमा सरकार र राष्ट्रपति रामचन्द्र पौडेलको आलोचना भइरहेका समयमा उक्त भिडिओ भाइरल भएको थियो । बहालवाला र पूर्व सुरक्षा अधिकारीले माफी दिने निर्णयको खुलेरै विरोध गरिरहेका थिए ।
भिडिओमा दौडिँदै रोकिन लागेको गाडीको ढोका नजिक आइपुगेका डीएसपी भाटले उत्साही हुँदै रेशम चौधरीलाई नमस्कार गर्दै खादा लगाइ दिएको देखिन्छ ।
भाट, चौधरीको गृह नगर टीकापुर इलाका प्रहरी कार्यालयका प्रमुख हुन् । डिएसपी भाटले रेशमले नै भेट्न खोजेपछि पुगेको र सामान्य शिष्टाचार र औपचारिकताको विषयलाई अन्यथा प्रचार गरेर बद्नाम गर्न खोजिएको आरोप लगाएका छन् ।
यस्तै उक्त भिडिओ फुटेजले शहिद प्रहरी परिवार, प्रहरी कर्मचारी र पूर्व प्रहरी कर्मचारीको भावनामा ठेस पुगेको भए माफी पनि मागेका छन् । टीकापुर घटनाले आफू पनि पीडामा परेको व्यक्ति भएको उल्लेख गर्दै भाटले कानूनविपरीतका गतिविधिमा आफू सँधै निर्मम रहेको दाबी गरेका छन् ।