काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चार दिने भारत भ्रमणमा जाँदै छन्। भारतीय र नेपाली पक्षले आवश्यक तयारी पूरा भएको जनाएका छन्। आज अपराह्न प्रधानमन्त्री प्रचण्ड सरकारी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ।
काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो १ बजेर ३० मिनेटमा नेपाल एयरलाइन्सको विमानमार्फत नयाँ दिल्ली प्रस्थान गर्ने प्रचण्ड स्थानीय समयअनुसार २ बजेर ५५ मिनेटमा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तय भएको छ। प्रधानमन्त्री प्रचण्डको उच्चस्तरीय भेटवार्ता भने बिहीवारदेखि मात्रै सुरु हुनेछ।
सो दिन भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, भारतीय समकक्षी नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकरलगायतसँग भेटवार्ता हुने तय भएको छ। प्रधानमन्त्रीलाई हैदरावाद हाउसमा विशेष समारोहका बीच प्रधानमन्त्री मोदीले स्वागत गर्ने कार्यक्रम रहेको छ। यस्तै उनले भारतीय बुद्धिजीवी र दलका नेतासँग पनि भेटवार्ता गर्नेछन्। त्यसअघि बुधवार भने प्रधानमन्त्री नेपाली समुदायले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछन्।