काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद सञ्जय गौतम विकास निर्माणसँग सम्बन्धित विभिन्न १५ बुँदे माग राखेर शनिबारदेखि बर्दियामा आमरण अनशनमा बसेका छन् । सदन र सडकबाट माग पूरा गराउन पटक-पटक पहल गर्दा पनि सरकारले नसुनेपछि बाध्य भएर आमरण अनशन सुरु गर्नुपरेको उनी बताउँछन् ।
बबई नदीमाथि बनेको जब्दीघाटको भत्किएको पुलमुनि टेन्ट टाँगेर अनसन सुरु गरेका गौतम भन्छन्, ‘मेरा माग पूरा गराउन सक्दो पहल गरें तर सरकारले नसुनेपछि आमरण अनशन सुरु गरें । जनताको अकल्पनीय साथ पाएको छु ।’
१७ वर्ष जिल्ला सभापति भएका, २०७० देखि लगातार तीनवटा चुनाव जितेर सांसद बनेका, सिँचाइ मन्त्रीसमेत बनेका गौतमको अनशनलाई कतिपयले ‘स्टन्ट’ भनेर आलोचना गरेका छन् । तर उनी भन्छन्, ‘आलोचनाको मतलब छैन, माग पूरा नभएसम्म आमरण अनशन जारी हुन्छ ।’