फ्लाई दुबई जहाजको इन्जिनमा समस्या आएपछि केहीबेर सात वटा जहाज नेपाली आकाशमा होल्ड भएका छन्।
सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९:२० बजे उडेपछि फ्लाई दुबईको एउटा इन्जिनमा समस्या आएको थियो। उडेको केहीबेरमै ठूलो आवाज र आगो लागेको देखिएको थियो।
त्यसपछि उक्त जहाज नेपालमै अवतरण गर्ने कि दुबई फर्किने भन्ने टुंगो लागेको थिएन। नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार एउटा इन्जिनबाटै दुबई पुग्न सकिने भनेपछि जहाज नेपालबाट उडेको हो।
त्यसक्रममा नेपाली आकाशमा रहेका सात वटा जहाज होल्ड भएका हुन्।
एयर अरेबिया, मलेसियन एयर, सिंगापुर एयर र बुद्ध एयरका चारवटा जहाज नेपालकै आकाशमा होल्ड गरिएका छन्। अहिले यी सबै जहाज ल्यान्ड गर्ने क्रममा छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पनि सामाजिक सञ्जालमार्फत फ्लाई दुबई सुरक्षित साथ गन्तव्यमा प्रस्थान भएको जानकारी दिएका छन्।
‘फ्लाई दुबई जहाज सुरक्षित आफ्नो गन्तव्यतिर जाँदैछ कोही चिन्ता नगर्नु होला सबैलाई शुभयात्रा,’ उनले भनेका छन्।