चितवन निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र पार्टी सभापति रवि लामिछाने विरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ। निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै रास्वपा र पार्टी सभापति लामिछानेविरुद्ध उजुरी परेको हो।
नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठका प्रतिनिधि ध्रवराज पोखरेलले उजुरी दर्ता गराएका हुन्। उजुरीपत्रमा भनिएको छ,‘निर्वाचन प्रक्रिया सुचारु भइरहेको अवस्थामा सामाजिक सञ्जाल र अनलाइन मिडियाबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले मत मागेको अडियो/भिडियो सार्वजनिक भएको छ। आचारसंहिता विपरीत राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले विभिन्न मतदान स्थलमा हुलहुज्जत गर्ने/गराउने गरी मतदातालाई प्रभावित पारेको छ।’
उजुरीपत्रमा विभिन्न मतदान स्थलमा प्रमुख जिल्ला अधिकारीको ठाडो निर्देशनमा सुरक्षाकर्मीहरूबाट एक पक्षीय ढंगबाट मतदाता र मतदान प्रतिनिधिहरूमाथि लाठी चार्ज गर्ने र मतदातालाई भयभित गर्ने/गराउने गरेको उल्लेख छ।
उजुरी पत्रमा भनिएको छ, ‘निर्वाचन क्षेत्र नं. २ अन्तर्गतको नयाँ किरण मावि भोजाड मतदान स्थलमा असहज परिस्थिति सिर्जना भएकाले मतदान स्थगित भए पछि बसेको मतदान अधिकृत र सम्बन्धित राजनीतिक दल (राष्ट्रिय स्वतन्त्र पार्टी समेत) का प्रतिनिधिहरूको संयुक्त बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले आचारसंहिताको उल्लंघन गरेको स्वीकार गर्दै कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरेको भएको छ।’