एसिसी प्रिमियर कपअन्तर्गत समूह ‘बी’ को खेलमा युएईले सिंगापुरविरुद्ध उत्कृष्ट ब्याटिङ गरेको छ।
आइतबार कीर्तिपुरस्थित त्रिवि मैदानमा सिंगापुरविरुद्धको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले अन्तिम बलमा अलआउट हुनुअघि ४७१ रन जोड्यो। एकदिवसीय फर्म्याटको खेलमा युएईले जोडेको यो अहिलेसम्मकै ठूलो स्कोर हो।
खेलमा युएईका दुई ब्याट्सम्यानले शतक प्रहार गरे। ओपनर तथा कप्तान मोहमद वासीम र विकेटकिपर ब्याट्सम्यान वृत्य अरविन्दले शतक प्रहार गरे।
वासीमले १६० रन बनाए। ८२ बल खेलेर आउट हुनुअघि उनले ९ चौका र १६ छक्का प्रहार गरे। उनले ६२ बलमा शतक पूरा गरे।
वासिमले गत महिना पनि कीर्तिपुर मैदानमा शतक हिर्काएका थिए। उनले विश्वकप क्रिकेट लिग-२ अन्तर्गत पपुवा न्युगिनीविरुद्ध ११९ रन बनाएका थिए।
वृत्यले ९६ बलमा शतक प्रहार गरे। उनले १३३ बलमा १७ चौका र ७ छक्काको मद्दतमा १७४ रन जोडे।
यस्तै आयन खानले ५० बलमा ७४ रन जोड्ने क्रममा ९ चौका र ३ छक्का हिर्काए।
बलिङमा सिंगापुरका अद्वृत्य भार्गवाले ४ विकेट लिए।
समूहमा युएईले अघिल्ला दुई मध्ये एक खेलमा जित र एक खेलमा हार बेहोरेको छ। सिंगापुर भने अघिल्ला दुवै खेलमा पराजित भएको थियो।
प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। नेपालले सुरुवाती दुवै खेलमा जित निकालेको छ। नेपालले तेस्रो खेल सोमबार साउदी अरेबियासँग मुलपानी मैदानमा खेल्दैछ।