उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितका हकमा समस्या समाधान गर्न सरकारले केही पहल थालेको बताएका छन्।
मंगलबार गृह मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले मिटरब्याजीहरूलाई कानुनी दायरामा ल्याउनका लागि विधेयक ल्याउने प्रक्रिया अघि बढिसकेको जानकारी दिएका हुन्।
‘पीडितहरूको समस्या समाधानका लागि आयोग गठन भइसकेको छ। अब आयोगले उजुरी लिएर छानबिन प्रक्रिया अघि बढाउँछ,’ उनले भने।
हरेक जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा प्रहरी प्रमुख, सरकारी वकिल, मालपोत कार्यालय, नापी कार्यालय, बैंक र मिटरब्याज पीडित भएकाहरूको संयन्त्र गठन गर्न लागिएको उनले जानकारी दिए।
संयन्त्रले पीडितहरूलाई न्याय दिनेमा आफू ढुक्क रहेको उनले बताए।
यसका साथै मिटरब्याजीहरूलाई कारबाहीका लागि सम्पत्ति शुद्धीकरण विभागलाई पनि सक्रिय बनाउनु पर्ने उनको भनाइ थियो।
मिटरब्याजबाट पीडित भएकाहरूको आन्दोलनमा प्रहरी बल प्रयोग हुनु दु:खद भएको भन्दै सो घटना छानबिन गर्नका लागि समिति गठन गरेको उनले जानकारी दिए।
‘सोमबार मिटरब्याज पीडितमाथि प्रहरीले बल प्रयोग गरेको सम्बन्धमा गृह मन्त्रालयले काठमाडौं सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ’, उनले भने।
यस्तै, मन्त्री श्रेष्ठले आफ्नो पहिलो प्राथमिकता सुशासन रहेको भन्दै गृह मन्त्रालय मातहतका निकायमा सबभन्दा बढी प्रयोग गरिने बताए।
प्रहरी निकायलाई शक्ति केन्द्र र राजनीतिक दबाबबाट मुक्त गरिने समेत उनले बताए।
‘प्रहरीमा पदस्थापन, सरूवा, बढुवा र त्यही अनुसार जिम्मेवारी प्रक्रियाबाट हुन्छ’, उनले भने, ‘प्रहरीको मनोबल गिर्ने काम कहीँकतैबाट हुँदैन।’
सशस्त्र प्रहरी बलमा जनशक्ति थोरै भएको र जनशक्ति थप गर्न देशको अर्थतन्त्रका कारण ढिलाइ भइरहेको उनले बताए।