कक्षा ८ को परीक्षमा धनगढीका १७ विद्यालयबाट सबै विद्यार्थी फेल अर्थात् ननग्रेड भएका छन्। आइतवार तयार भएको परीक्षा नतिजामा धनगढीका विभिन्न १७ सामुदायिक विद्यालयबाट कुनै पनि विद्यार्थीले कक्षा ९ मा भर्ना हुने योग्यता हासिल नगरेको परीक्षा नतिजाले देखाएको छ।
उपमहानगरको शिक्षा युवा तथा खेलकुद महाशाखाले नतिजा तयार गरेर प्रकाशित गर्न सम्बन्धित विद्यालयमा पठाइएकाले कुन कुन विद्यालयमा नतिजा शून्य आयो त्यो भन्न नमिल्ने बताए। तर, १७ जति विद्यालयमा कुनै विद्यार्थीले पनि कक्षा ९ मा भर्ना हुन आवश्यक ग्रेड प्राप्त नगरेको बताइएको छ।
उपमहानगरको शिक्षा, युवा तथा खेलकुद महाशाखाका अनुसार धनगढीमा ६३ सामुदायिक विद्यालय छन्। ६३ मध्ये कुन विद्यालयमा आगामी शैक्षिक सत्रमा कक्षा ९ मा भर्ना हुने विद्यार्थी छैनन् भन्ने कुरा विद्यालयहरूले नतिजा प्रकाशन गरेपछि भन्न मिल्ने बताइएको छ।
धनगढीमा ३३ प्रतिशत विद्यार्थीमात्रै कक्षा ९ मा भर्ना हुन योग्य
आधारभूत तह कक्षा ८ को परीक्षामा निजी र सामुदायिक विद्यालयबाट ३३ प्रतिशत विद्यार्थी मात्रै कक्षा ९ मा भर्ना हुन योग्य देखिएका छन्। कुनै पनि विषयमा ननग्रेड नपाउनेको प्रतिशत केबल ३३ प्रतिशत मात्रै देखिएको शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख नरेन्द्रबहादुत खातीले बताए। आधारभूत तहको परीक्षा नतिजा हेर्दा कम्तिमा कुनै एक विषयमा ननग्रेड पाउनेको संख्या निकै उच्च देखिएको छ। १ जना विद्यार्थीमा ३३ जना कक्षा ९ मा भर्ना हुन योग्य हुँदा ७७ जना विद्यार्थीको योग्यता पुगेको छैन। विद्यालयहरूमा गुणस्तरीय पढाई नहुँदा धनगढीमा कक्षा ८ को नतिजा निराशाजनक आएको छ।
धनगढीका सामुदायिक विद्यालयमा हल्लीखल्ली
हिजो तयार भएको आधारभूत तह कक्षा ८ को परीक्षाको नतिजाले धनगढीका सामुदायिक विद्यालयमा ठुलो हल्लीखल्ली मच्चिएको छ। विगतमा उपमहानगरलाई प्रभावित बनाएर ग्रेस दिन लगाएर सतप्रतिशत नतिजा हासिल गर्न अभ्यस्त विद्यालयहरू यो पटक उपमहानगरले परीक्षा सञ्चालन र उत्तरपुस्तिका परीक्षण र नतिजा प्रकाशनमा कडाइ गरेपछि पढाई नहुने विद्यालयहरूको नतिजा शून्य भएको बताइएको छ। धनगढीका सबैजसो सामुदायिक विद्यालयमा यो वर्ष कक्षा ९ मा न्यून संख्यामा विद्यार्थी भर्ना हुने देखिएको छ भने केही विद्यालयहरूमा ९ कक्षा वर्षभरी रित्तो हुने भएका छन्।
ग्रेड वृद्धि परीक्षा हुने
धनगढी उपमहानगरपालिकाले कक्षा आठको परीक्षामा ननग्रेड कायम भएका विद्यार्थीका लागि ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने भएको छ। शिक्षा महाशाखा प्रमुख खातीले बैशाख २९ र ३० गते सैद्धान्तिक तर्फ बढीमा दुई विषयमा ननग्रेड कायम भएका विद्यार्थीहरूका लागि ग्रेड वृद्धि परीक्षा हुने तय भएको बताए। उनले ननग्रेड भएका विद्यार्थीहरूलाई ग्रेड वृद्धि परीक्षामा सहभागी गराउन प्रति विद्यार्थी प्रति विषय २५० का दरले राजश्व शाखामा जम्मा गरि बैशाख १८ भित्र शिक्षा महाशाखामा विद्यार्थीको विवरण आइसक्नुपर्ने बताए। ग्रेड वृद्धि परीक्षाका लागि सबै विद्यालयलाई सूचना दिइएको बताइएको छ।