काठमाडौं । रवि लामिछानेविरुद्ध लगातार मुद्दा हालेर भाइरल बनेका युवराज पौडैल ‘सफल’ आइतबार बिहान टेकुस्थित काठमाडौं प्रहरी परिसरको प्रवेशद्धारबाहिर युट्युबरको निशानामा परे । रवि लामिछानेसँग आफूहरुलाई जोडेर दुष्प्रचार गरेको भन्दै उनीहरु युवराजमाथि जाइलागेका थिए ।
आफूलाई सामाजिक अभियन्ता भन्ने नरनाथ गौतमलगायतले उनलाई हातपातको समेत प्रयास गरेका थिए । काठमाडौं प्रहरी परिसरमा प्रवेश गर्न खोजिरहेका युवराजलाई युट्युबरले बाटो छेकेर झांगलझुंगल पारेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।
स्रोतका अनुसार आफूलाई परिवर्तन मिडियाको सञ्चालक भन्ने पवित्रा लामा युवराजले मिथ्या आरोप लगाएको भन्दै केही दिनअघि काठमाडौं प्रहरी परिसर पुगेकी थिइन् । प्रहरीले जाहेरी लिएर आउनु भनेपछि उनी फर्किएकी थिइन् ।
आइतबार बिहान जाहेरी लिएर गएपछि पवित्रालाई प्रहरीले गालीगलौजको विषय भएकाले त्यसमा सोझै अदालत जान सकिने सुझाएको थियो । तर एकपटक छलफलका लागि बोलाइदिने भनेर महानगरीय प्रहरी बृत्त बौद्धमा जान भनिएको थियो ।
फर्कँदै गर्दा युवराजसँग प्रवेशद्वारबाहिर जम्काभेट भयो । त्यसपछि उनीसहितका व्यक्तिहरुले युवराजलाई घेराउ गरेर केरकार गर्न थाले । प्रहरीले प्रदर्शन र भिड हुन सक्ने भन्दै प्रवेशद्धरामा कडाइ गरेको थियो । कोशी प्रदेशको नामाकरणविरुद्ध अस्वभाविक गतिविधि गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएकाले प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको हो ।
तर प्रवेशद्धराबाहिर युट्युबर र युवराजबीच तमासा बन्यो । युवराजलाई जोगाउन प्रहरीलाई हम्मेहम्मे परेको थियो । युवराज उजुरी सम्बन्धमा प्रहरीकहाँ गएर बोल्ने भन्दै पन्छिन खोजेका थिए ।
तर, युट्युबरले उनीसँग तत्काल जवाफ मागिरहेका थिए । अन्तमा प्रहरीले युवराजलाई आफ्नो नियन्त्रणमा राखेर कार्यालयभित्र लग्यो । पछि प्रहरीले नै ट्याक्सीमा राखेर उनलाई घर पठाएको बुझिएको छ ।
काठमाडौं प्रहरी परिसरका प्रमुख दानबहादुर कार्कीले दुई पक्षबीच संयोगबस भेट भएर गेटबाहिर विवाद भएको बताए। ‘यहाँ कोहीविरुद्ध पनि उजुरी दर्ता भएको थिएन । बाहिर भेट भएर विवाद भएछ । हामीले युवराजजीलाई उद्धार गरेर कार्यालयभित्र ल्याएका हौँ,’ एसएसपी कार्कीले भने ।