काठमाडौं : सभामुख देवराज घिमिरेको निवासमा प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ। संक्रमणकालीन न्यायलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख विपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जुटेका हुन्।
बैठकमा एमाले प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपाने, महान्याधिवक्ता दीनमणी पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडाल पनि सहभागी छन्।
सभामुख घिमिरेले प्रमुख तीन दलका नेतालाई संक्रमणकालीन न्याय, सदन सञ्जालन र समसमायिक विषयमा छलफल गर्न बैठक बोलाएको सभामुख सचिवालयले जनाएको छ।
यस अगाडि सभामुख निवासमा भएको छलफलमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई फास्ट ट्र्याकबाट अघि बढाउने सरकारको प्रस्तावलाई प्रतिपक्षी दलले अस्वीकार गरेको थियो। बैठकमा सरकारका तर्फबाट प्रधानमन्त्री प्रचण्डले फुल हाउसबाट टिआरसी विधेयकलाई फास्ट ट्रयाकबाट लैजान प्रस्ताव गरेका थिए। प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले समितिमा पठाउनुपर्ने अडान लिएका छन्।