सुदूरपश्चिमको पहाडी जिल्लामा रहेको डडेल्धुरा अस्पताललाई विश्वविद्यालयको सङ्कायको रुपमा रहने गरी सम्झौता गरिएको छ। सरकारले डडेल्धुरामा आङ्गिक क्याम्पस खोल्ने र डडेल्धुरा अस्पताललाई विश्वविद्यालयको सङ्कायका रुपमा रहने गरी सरोकारवाला मन्त्रालय र विश्वविद्यालयबीच सम्झौता भएको हो।
क्याम्पस सञ्चालनका लागि आवश्यक बजेट तथा जनशक्ति व्यवस्थापनका लागि सरकारले पूर्ण सहयोग गर्ने आइतबार कञ्चनपुर पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रतिबद्धता जनाएका हुन्। प्रधानमन्त्री प्रचण्डले सुदूरपश्चिमलाई विकासको नयाँ चरणमा लैजाने संकल्प लिएको समेत बताएका छन्।
कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दिक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले विकासको नयाँ चरणमा सबैको साथ रहनुपर्नेमा जोड दिए। विश्वविद्यालयको शिक्षा सिर्जनात्मक, युग सुहाउँदो, वैज्ञानिक एवं प्राविधिक जनशक्ति उत्पादन गर्ने किसिमको नभएसम्म समाज रुपान्तरण गर्न नसकिने उनले बताए।
‘विश्वको प्रतिस्पर्धी शैक्षिक बजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनका लागि विश्वविद्यालयले समयानुकूल शैक्षिक तथा व्यवस्थापकीय सुधार गर्दै अघि बढ्न जरुरी छ।’ प्रधानमन्त्री दाहालले भने। विभिन्न कार्यक्रममा भाषणका क्रममा नयाँ नयाँ निर्देशन, प्रतिबद्धता र घोषणा गर्दै आएका प्रधानमन्त्री दाहालले आइतबार सुदूरपश्चिमलाई विकासको नयाँ चरणमा लैजाने संकल्प लिएको बताएका छन्।
प्रधानमन्त्री दाहालले सुदूरपश्चिममा मेडिकल विश्वविद्यालय सञ्चालनका लागि मन्त्रीपरिषदबाट निर्णय गरिएको पनि स्मरण गराए। उनले विश्वविद्यालयको शिक्षा केवल औपचारिक र सैद्धान्तिक मात्र नभई व्यावहारिक, जीवनोपयोगी तथा समाजको रूपान्तरणका लागि सहयोगी हुनुपर्नेमा जोड दिएका हुन्।