कैलाली । नेकपा एमाले सुदूरपश्चिम अध्यक्ष तथा पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले वर्तमान सरकार बाह्य शक्तिबाट परिचालित भएको आरोप लगाएका छन् ।
एमालेको ग्रासरुट अभियानको क्रममा कैलालीस्थित गोदावरीको एक कार्यक्रममा बोल्दै भण्डारीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अन्तैबाट चलिरहेको र सरकारलाई समर्थन गर्ने दश दलीय गठबन्धन परिचालित रहेको आरोप लगाए ।
उनले भने, ‘अन्तकै आदेश र इसाराबाट अहिलेको सरकार चलिरहेको छ । अहिले अन्तैबाट कोही आउने एकै पटक सबैलाई भेटेर निर्देशन जारी गर्ने र त्योलाई अक्षरशः पालना गर्ने प्रवृत्ति देखिएको छ । उताबाट आदेश आउँछ, यता दश दलीय गठबन्धन आदेश पालना गर्छ । आज नेपालको राज्य सत्ता बाहिरबाट चलिरहेको छ । यस्ता कारणले यो सरकारप्रति सबै क्षेत्रमा निराशा पैदा भएको छ ।’
यस्तै उनले अहिलेको सरकार राष्ट्रिय समस्याबाट भागिरहेको र समस्या समाधान गर्न छाडेर आदेश पालनामा लागेको आरोप लगाए ।
उनले एमालेलाई चौतर्फी घेराबन्दी गरिएको बताए ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई राष्ट्रपति बनाउन खोजेको तर नेपालले दक्षिणपन्थी र प्रतिक्रियावादी शक्तिहरूलाई राज्य सत्ता बुझाएको भण्डारीको आरोप थियो ।
‘अहिले एमाले र कम्युनिस्ट आन्दोलनलाई टुटफुट बनाउन खोजिएको छ,’ उनले भने, ‘यसअघि हाम्रो एमालेले ३२ सिटको नेता प्रचण्डलाई प्रधानमन्त्री बनायो। त्यसपछि १० सिटको मान्छेलाई राष्ट्रपति बनाउन खोज्यो । तर तिनै मान्छेले दक्षिणपन्थी र प्रतिक्रियावादी शक्तिहरूलाई राज्य सत्ता बुझाएर उनीहरुको सरणमा गए ।’