काठमाडौं । गत शुक्रबारदेखि मोबाइल स्वीच अफ गरेर सम्पर्कविहीन भएका कांग्रेस महाधिवेशन प्रतिनिधि तथा अधिवक्ता ज्ञानेन्द्रराज आरण मंगलबार मध्यान्ह एकैचोटी सर्वोच्च अदालत परिसरमा देखिए ।
उनी सम्पर्कविहीन हुनुको कारण थियो, माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध रिट दर्ता नगर्न पार्टी नेतृत्वले दिएको निरन्तर दबाब । बागमती प्रदेश महाधिवेशन प्रतिनिधिसमेत रहेका रामेछाप पुरानागाउँका आरण प्रचण्डविरुद्ध रिट लैजाने प्रमुख निवेदक हुन् ।
आरणलाई सभापति शेरबहादुर देउवाको निर्देशनबमोजिम नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले शान्ति प्रक्रियामा असर पर्ने र राष्ट्रपति चुनावमै माओवादीको भोट कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई आउनबाट बिथोलिने भन्दै रिट दर्ता नगर्न भनेका थिए ।
लेखकले पटक-पटक आग्रह गरेपछि अर्का रिट निवेदक रामेछापकै कांग्रेस महाधिवेशन प्रतिनिधि जीतेन्द्र मोक्तान भने लचिलो भएका थिए । तर, आरण भने सम्पर्कबाहिर रहेर एकैपटक मंगलबार रिट दर्ता भएपछि पत्रकारसामु उपस्थित भए ।
पार्टीले केन्द्रबाट मात्र नभएर जिल्ला सभापति तथा प्रतिनिधिसभा सदस्य कान्छाराम तामाङमार्फत पनि आरण र मोक्तानलगायत कांग्रेस कार्यकर्तालाई रिट दर्ता नगर्न भनेको थियो । कान्छारामको दबाब थेग्न नसकेर जीतेन्द्र जिल्लाकै एक बिहे कार्यक्रममा समेत कान्छाराम भेट हुने भएपछि निम्ता छलेर बसेको बताइन्छ ।