वीरगञ्ज । रौतहटको गुजरा नगरपालिकाका २६ वर्षीय मन्सुर (परिवर्तित नाम)लाई आइतबार बिहान बेस्सरी पेट दुख्यो । बुवाले गाउँकै क्लिनिकबाट औषधि किनेर खुवाए । त्यो औषधी खाएर उनलाई २० को १९ पनि भएन । दुखाइ नघटेर मन्सुर छटपटाउने क्रम नरोकिएपछि सोमबार उनलाई उपचारका लागि चन्द्रपुर अस्पताल ल्याइयो ।
विरामीले धेरै पीडा भएको बताएपछि चिकित्सकले आन्द्रा फुटेको आंशका गरे र एक्सरे गराउन भने । एक्सरे गराउँदा उनको पेटभित्र बोतल नै देखेपछि चिकित्सक नै आश्चर्यमा परे । लुगा लगाएर गरिएको एक्स–रेमा उनीहरुलाई विश्वास लागेन । ज्याकेटमा कतै बोतल लुकाएको पो रहेछ कि भनेर कपडा खोल्न लगाएर एक्स–रे गराइयो । त्यसपछि पनि मनिटरमा उही दृश्य दोहोरियो ।
पेटभित्र ठूलै बोतल देखेपछि प्राथमिक उपचार गरेर विरामीलाई थप उपचारका लागि सुविधा सम्पन्न अस्पताल लैजान आग्रह गरेका थिए ।
चन्द्रपुर अस्पतालका डा. अभिषेक अधिकारीले पहिलो पटक यस्तो घटना देखेको जानकारी दिए । ‘सुरुमा आन्द्रा फुटेको भन्ने ठानेर उपचार सुरु गरेका थियौं, तर एक्स– रे गराउँदा पेटमा सिंगो बोतल नै देखियो’, उनले भने, ‘सिंगो बोतल नै पेटभित्र देखेपछि स्वास्थ्यमा गम्भीर असर पर्ने देखेरै हामीले थप उपचारका लागि अन्यत्र लैजान आग्रह गरेका हौं ।’