रुपन्देही । रुपन्देहीको सैनामैनामा झारफुकको बहानामा कुटपिट गर्दा १४ वर्षीया बालिकाको मृत्यु भएको छ । बालिकाको हत्यामा संलग्न भएको आरोपमा झारफुक गर्ने महिला सैनामैना वडा नं १० बस्ने २२ वर्षीया सोनिया रेश्मीलाई इलाका प्रहरी कार्यालय सालझण्डीले पक्राउ गरेर अनुसन्धान थालेको छ ।
रेश्मीको कुटपिटबाट सोही ठाउँकी १४ वर्षीया सिता ज्ञवालीको मृत्यु भएको प्रहरीले जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले जनाएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा आइतबार महिलाले झारफुक गरी बिरामीलाई सन्चो बनाउँछु भन्दै एक बालिकालाई भुइँमा लडाई घोप्टो पारी कुटपिट गरेको भिडिओ सार्वजनिक भएको थियो ।
माताले बालिकाको शरीरमाथि चढी घण्टी बजाउँदै गालामा थप्पड हान्ने, आइज, देखिस्, कति खान्छस्, मेरो पावर देखिस् भन्दै रुद्राक्षको मालाले शरीरको विभिन्न भागमा हान्ने, भुइँमा लडाउने, टाउको र घाँटीमा खुट्टाले टेक्ने, पटकपटक जगले नाकमुखमा पानी खन्याउने, कपालमा समाई टाउको बटारी दिने गरेकी थिइन् ।