ताप्लेजुङ । विश्वप्रसिद्ध बहराईन सरकारको ईशा अबार्ड प्राप्त गरेका वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइत यति खेर आफ्नै गृह जिल्लाको आँखा शिबिरमा पुग्नुभएको छ । गत ९ फागुनमा बहराइनका राजा सेख हमद विन इसा अल खालिफाको हातवाट विश्व प्रसिद्ध अबार्ड ग्रहण गरे पछि पहिलो पटक उहाँ गृह जिल्ला आइपुग्नुभएको हो ।
हिजोदेखी आफ्नै जन्म गाउँ ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुंगोलामा निःशुल्क आँखा शिविरमा ब्यस्त हुनुहुन्छ । आइतबारसम्म जारी रहने आँखा शिविरमा बिरामीहरुको आँखाको शल्यक्रियासमेत गरिरहनुभएको छ ।
उहाँको नेतृत्वमा रहेको चिकित्सक तथा आँखा प्राविधिकको टोलीले शनिवार र आइतबार फक्ताङलुङ गाउँपालिकाको केन्द्र तापेथोकमा शल्यक्रिया सहितको आँखा शिविर सञ्चालन गर्नेछ ।
सो अभियानका अभियन्ता मिङ्माडण्डु शेर्पाका अनुसार प्रतिष्ठित ईसा अवार्ड प्राप्त गरेपछि उहाँ शल्यक्रियासहितको निःशुल्क आँखा शिविर कार्यक्रम लिएर पूर्वी नेपाल छिर्नुभएको हो । यो शिविर अघि उहाँले तेह्रथुम जिल्लाका विभिन्न स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन गरेर ताप्लेजुङ आउनुभएको हो ।