जुम्ला । जुम्लाको तिला गाउँपालिका – ४ नुवाकोट गाउँको महादेवस्थानमा भएको आगलागी हुँदा १३ घार मौरीसहित घर नष्ट भएको छ । गएराति १ बजे भएको आगलागीबाट नुवाकोट गाउँ निवासी लालबहादुर हमालको घर र १३ घारमा भएको मौरी पूर्णरुपले नष्ट भएको हो ।
पीडित घरधनी हमालले १३ घार मौरी, एक तोला सुन र ६५ हजार नगद जलेर नष्ट भएको बताए। उनका अनुसार मानवीय क्षति भने भएको छैन ।
आम्दानीको मूल स्रोत मौरी नष्ट भएपछि भने जीविकोपार्जन कसरी गर्ने भन्ने चिन्ता सृजना भएको पीडित हमालले दुखेसो व्यक्त गरे।आगलागीबाट २ लाख ६० हजार बराबरको मौरी नष्ट भएको छ ।
अहिले बजारमा महको प्रति केजी २ हजारमा बिक्री वितरण भइरहेको छ। घटनाको स्थलगत क्षतिको विवरण लिन तिला गाउँपालिका कुडारीस्थित प्रहरी चौकीबाट प्रहरी घटनास्थल पुगेका छन् ।