प्रदेश नम्बर १ को नामकरणसम्बन्धी प्रस्तावमा अहिले प्रदेश सभामा छलफल भइरहेको छ।
विवादका कारण अघिल्लो प्रदेश सभाले राख्न नसकेको नाम मंसिर ४ को चुनावपछि गठन भएको नयाँ प्रदेश सभाले टुंगो लगाउन छलफल भइरहँदा त्यसको प्रत्यक्ष प्रसारण भने रोकिएको छ।
यसअघिका सबै बैठकहरू प्रदेश सभा सचिवालयको आफ्नो युट्युब च्यानलबाट लाइभ हुने गरेका थिए। बुधबारको बैठक भने लाइभ गरिएको छैन।
यसअघि लाइभ नहुनुको कारण प्राविधिक समस्या बताइएको थियो।
प्रदेश सभाका सचिव गोपाल पराजुलीले मर्मतको काम भइरहेकाले लाइभ रोकिएको बताएका थिए।
प्रदेश सभाका एक प्राविधिकले भने कुनै समस्या नभएको बताए।
‘केही प्राविधिक छैन, लाइभ नगर्नु भन्ने निर्देशन छ,’ ती प्राविधिकले भने।
प्रदेश सभामा नेकपा (एमाले) ले प्रदेशको नाम कोशी राख्नुपर्ने प्रस्ताव दर्ता गरेको छ भने नेकपा (एकीकृत समाजवादी)ले लिम्बुवान किरात सगरमाथा राख्न प्रस्ताव दर्ता गरेको छ।
एमालेको प्रस्तावमा धेरै सांसदको समर्थन रहेकाले उक्त प्रस्ताव पारित हुने सम्भावना छ।
प्रदेश १ मा पहिचानका आधारमा प्रदेशको नामकरण हुनुपर्ने माग बलियो रूपमा उठिरहेको छ। आजको संसद बैठकमा मुख्य दलका सांसदहरूले पहिचान नभई नदीको नाममा प्रदेश नाम राख्नुपर्ने पक्षमा बोलिरहेका छन्।
आफूले पहिचानको विपक्षमा बोलेको कुरा एक्स्पोज नहोस् भनेर लगभग सबै दलका सांसदहरूको सहमतिमा आजको बैठकको लाइभ नगरिएको हो।
आजको संसद बैठकले नामकरण टुंगो लगाउन सक्ने सम्भावना छ। त्यसैलाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय मोरङले बुधबार दिउँसो ३ बजेदेखि विराटनगर महानगरपालिकाका विभिन्न क्षेत्रमा भेला, जुलुस, धर्नालगायत गतिविधि गर्न निषेधाज्ञा जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले विज्ञप्ति जारी गर्दै प्रदेशको नामांकनको विषयमा शान्ति सुव्यवस्थामा खलल पुग्ने गतिविधि हुन सक्न भन्दै देवकोटा चोकदेखि कोशी अस्पताल चोकसम्म, जिल्ला प्रशासन कार्यालय वरपर, मुख्यमन्त्रीको निवास र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वरपर निषेधाज्ञा जारी भएको बताएका छन्।
निषेधाज्ञा जारी भएका ठाउँमा सभा, जुलुस, भेला, र्याली, धर्नाजस्ता कार्य गर्न प्रतिबन्ध लगाइएको छ।
अर्को आदेश जारी नभएसम्म निषेधाज्ञा कायम रहने उल्लेख गरिएको छ।