काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आज फेसबुकमा लेखेको २ वाक्यको स्टाटसले बजार तताएको छ । उनले आफूलाई राजीनामा गर्न दबाब आएको आशय व्यक्त गर्दै ‘यो देश बन्न सक्दैन’ भन्ने निष्कर्षसमेत प्रस्तुत गरेका छन् ।
बालेन बेलाबखत सामाजिक सञ्जालबाट आफ्ना व्यक्तिगत भावना पोख्ने गर्छन्, र तीमध्ये कतिपय उरन्ठेउला पनि हुन्छन् । स्टाटसकै कारण उनी विवादमा पनि पर्ने गरेका छन् ।
आज पनि सामाजिक सञ्जालमा उनको स्टाटसलाई लिएर मजाक गर्ने र आलोचना गर्नेहरूको कमी छैन । तर, बालेनले आज कोप्रति आफ्नो निशाना सोझ्याएका हुन् भन्ने चाहिँ धेरैले बुझेका छैनन् ।
बालेनका निकट सहयोगी कुमार बेनसँग हामीले यो विषयमा जिज्ञासा राख्यौँ । उनले ६–७ दिन अगाडिको स्टाटस हेर्न सुझाए । आजको स्टाटस मुख्यतः त्यही विषयसँग सम्बन्धित रहेको उनको भनाइ थियो ।
गत १७ फेब्रुअरीमा लेखेको स्टाटसमा बालेनले सार्वजनिक जग्गामा अनधिकृत तवरले बसिरहेका व्यक्तिहरूले डोजर चलाएर खोलाको बाँध भत्काएको र राज्यको माथिल्लो तह निरीह बनेको आरोप लगाएका थिए ।