सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले शपथ लिएका छन्।
शुक्रबार अपरान्ह प्रदेश प्रमुख देवराज जोशीले उनलाई पद तथा गोपनियताको शपथ गराएका हुन्।
नेपाली कांग्रेस संसदीय दलका नेता शाह विहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
यसअघिका मुख्यमन्त्री नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले प्रदेश सभाबाट विश्वासको मत नपाएर पदमुक्त भएपछि संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा शाह मुख्यमन्त्री नियुक्त भएका हुन्।
उनले ३० दिनभित्र प्रदेश सभा बैठकबाट विश्वासको मत लिनुपर्ने हुन्छ। मुख्यमन्त्री शाहले शुक्रबारनै दुई सदस्यीय मन्त्रिपरिषद पनि विस्तार गरेका छन्।
उनले कांग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवा र नेकपा एकीकृत समाजवादीबाट नरेश शाही आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त गरेका छन्।
मन्त्रीमा नियुक्त भएकाहरुले पनि आज नै पद तथा गोपनियताको शपथ लिएका छन्। सुदूरपश्चिम प्रदेश सभामा ५३ जना सांसद छन्। यहाँ मुख्यमन्त्रीलाई बहुमत पुर्याउन २७ सांसद चाहिन्छ।
यसअघिका मुख्यमन्त्रीलाई समर्थन गरेको ७ सांसद रहेको नागरिक उन्मुक्ति पार्टीले आफूहरूका माग पूरा नभएसम्म कसैलाई पनि समर्थन नगर्ने बताइरहेको छ। जेलमा रहेका रेशम चौधरीलगायत रिहाइ हुनुपर्ने माग नागरिक उन्मुक्ति पार्टीको छ।
प्रदेश सभामा कांग्रेसका १९ सांसद छन्। माओवादीका सभामुखसहित ११, नेकपा एमालेका उपसभामुखसहित १०, नागरिक उन्मुक्तिका ७, राप्रपाका १ र एकीकृत समाजवादीका ४ जना सांसद र १ जना स्वतन्त्र सासंद छन्।