काठमाडौं । ट्विटर केन्द्रीत केही ‘फेमिनिस्ट’ र कांग्रेस निकट ‘साइबर वारियर’ का दुई–चार पुरुष सदस्यहरु आइतबार दिउँसो माइतीघर मण्डलामा देखिए । उनीहरुले प्लेकार्ड देखाउँदै उठाएको मुद्दा थियो- सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमबाट खेलाउन नहुने ।
ट्विटरबाट नेपाल क्रिकेट संघ (क्यान) लाई बहिष्कार गर्न आह्वान गर्दै ह्यासट्याग चलाएका केही उग्रवादी फेमिनिस्टहरुले यो प्रदर्शनका लागि आह्वान थिए । भलै प्रदर्शनमा सहभागीको संख्या औंलामा गन्न सकिने थियो, र पनि यो हर्कतले विभिन्न प्रश्नहरु खडा गरेको छ । पहिलो प्रश्न हो, अदालतमा विचाराधीन मुद्दा प्रभावित हुने गरी सडकमा प्रदर्शन गर्न मिल्छ कि मिल्दैन ?
सन्दीपमाथि यौनजन्य कसुरमा दायर गरिएको मुद्दा अहिले काठमाडौं उच्च अदालतमा चलिरहेको छ । यसअघि सो अदालतले उनलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो भने त्यसलाई उल्टाउँदै पाटन उच्च अदालतले धरौटीमा रिहा गरिदियो । यसविरुद्ध सरकारी वकिलको कार्यालयले सर्वोच्चमा पुनरावेदन गरेको छ, जसको छिनोफानो भएको छैन ।
अहिलेसम्मको स्थितिमा सन्दीप एक आरोपी मात्र हुन्, अपराधि प्रमाणित भइसकेका व्यक्ति होइनन् । तर, सामाजिक सञ्जाल, खासगरि ट्विटरमा उग्रवादी फेमिनिस्टहरुले उनलाई आफैं अपराधि ठहर गर्दै क्यानमाथि विभिन्न दवाव दिइरहेका छन् । क्यानले सन्दीपलार्ई राष्ट्रिय टिमबाट हटाउनुपर्ने उनीहरुको मुख्य माग छ ।
क्यानको बोर्ड वैठकले केही दिनअघि सन्दीपमाथि लगाइएको निलम्बन फुकुवा गरेको थियो । त्यसलगत्तै उनलाई क्यानको छनोट समितले आगामी महिना हुने घरेलु क्रिकेट श्रृंखलाका लागि बन्द प्रशिक्षणमा बोलाएको छ । अन्तिम टोली घोषणा गर्न बाँकी रहँदा ट्विटरका फेमिनिस्टहरु बर्बराएका हुन् । उनीहरुको बोलीमा लोली मिलाउँदै कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पनि क्यानको निर्णयप्रति विरोध जनाए । यी दुई युवा नेताहरु पनि कान नछामी कागको पछिपछि कुद्नु थप चिन्ताको विषय भएको छ ।
यथार्थ के हो भने आजका दिनसम्म सन्दीपमाथि लागेको आरोप पुष्टि भएको अवस्था छैन । पाटन उच्च अदालतको फैसलाले उनलाई अरु विभिन्न बन्देजहरु लगाए पनि क्रिकेट खेल्न वञ्चित गरेन । फैसलाअनुसार सन्दीप विदेश जान पाउँदैनन्, तर देशभित्र हुने कुनै पनि स्तरको क्रिकेट खेल्न सक्छन् । क्रिकेटको विश्वव्यापी नियमन गर्ने निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले पनि सन्दीपलाई राष्ट्रिय टिमबाट खेलाउन अनुमति दिइएको छ ।
अन्तर्राष्ट्रिय अभ्यासहरु हेर्दा पनि सन्दीपजस्तै मुद्दा लागेका धेरै प्रख्यात खेलाडीहरु राष्ट्रिय टिमबाट निरन्तर खेलिरहेकै हुन्छन्, जबसम्म अभियोग प्रमाणित हुँदैन । अहिले एकदिवसीय क्रिकेटका नम्बर १ ब्याट्सम्यान बाबर आजम पनि अदालतमा बलात्कारको मुद्दा खेपिरहेका छन् । तर, न उनलाई निलम्बन गरिएको छ न पक्राउ । अहिले पनि राष्ट्रिय टिमको नेतृत्व गरिरहेका छन् । पोर्चुगलका प्रख्यात फुटबलर रोनाल्डोमाथि पनि बलात्कारको आरोपमा जाहेरी परेको थियो । तर, आरोप लाग्नासाथ उनले पनि राष्ट्रिय टिमबाट बाहिर हुनु परेन ।
यो सबै पृष्ठभूमिमा क्यानले सन्दीपलाई बन्द प्रशिक्षणमा नबोलाउनुपर्ने कुनै कारण थिएन । सन्दीपलाई घरेलु सिरिजका लागि बन्द प्रशिक्षणमा राखिएको हो, नकि विदेशमा हुने खेलका लागि । उनलाई फेरि कप्तान नियुक्त गरिएको पनि होइन । अब कानून र अदालतका साथै नियामक निकायले पनि नरोकेको सन्दीपलाई रोक लगाउन ट्विटे अभियन्ताले के आधारमा दवाव दिँदैछन् भन्ने दोस्रो प्रश्न हो ।
हिजो माइतीघरमा गरिएको प्रदर्शनमा अभियन्ताले सन्दीपलाई ‘बलात्कारी’ कै रुपमा चित्रण गरियो । एउटी युवतीले बोकको प्लेकार्डको नारा थियो– ‘क्रिकेट हेर्न मन लाग्छ, बलात्कारको डर लाग्छ ।’ यस्तो नाराको अर्थ र अभिष्ट के हो ? सन्देश के हो ? भोलि सन्दीपले बलात्कार गरेको ठहर भएन भने
कांग्रेसका महामन्त्रीद्वयले पनि सन्दीपलाई ‘राष्ट्रिय टिममा खेलाउन नहुने’ बिकाउ मत राखे । आफूहरुले सन्दीपलाई टिममा नराख्न क्यानका अध्यक्षलाई भेटेर निर्देशन दिएको तर उनले पालना नगरेको उनीहरुको भनाइ थियो । स्मरणीय यो छ कि विश्वप्रकाश र गगन दुवै यो विषयसँग सम्वन्धित सरकारी ओहदामा छैनन् । क्यान अध्यक्षलाई निर्देशनात्मक दवाव दिने हैसियत उनीहरुले कसरी राखे ?
हा्े, क्यान अध्यक्ष चतुरबहादुर चन्द कांग्रेसका जिल्ला अध्यक्ष पनि हुन् । यदि उनले पार्टीको जिल्ला अध्यक्षका रुपमा निभाएको कुनै भूमिकाप्रति असन्तुष्टि वा गुनासो भएमा त्यसबारे सोध्ने हक महामन्त्रीद्वयलाई हुन्छ । तर, क्रिकेटसँग सम्वन्धित विषयमा यो गर, त्यो गर भनेर निर्देशन दिने अधिकार उनीहरुलाई कसले दियो ?
यस प्रकणमा नेपाली मिडिया पनि कतै न कतै चुकिरहेका छन् । केही दिनअघि एउटा राष्ट्रिय दैनिकले सन्दीप प्रकरणमाथि एउटा लामो रिपोर्ट प्रकाशित गर्यो । सन्दीपमाथि जाहेरी दिने युवतीको एकतर्फी बयानलाई मात्रै आधार बनाएर लेखिएको उक्त ‘खोजमुलक रिपोर्ट’ मा ‘आँखोदेखा हाल’ जसरी सन्दीपले बलात्कार नै गरेको ठोकुवा थियो भने जाहेरीकर्तालाई ‘बालिका’ ठहर्याइएको थियो । जबकि उक्त घटनामा बलात्कार भएको हो कि होइन र जाहेरीकर्ता नाबालिग हुन् कि होइनन् भन्ने दुवै विषयमा अदालतले छानविन गरिरहेको छ । अदालतको फैसला नआउँदै मिडियाले सुनाउने यस्ता फैसलाले पनि अभियन्ताहरुलाई उक्साउने र मुद्दा प्रभावित बन्ने स्थिति हुन्छ ।
कानूनको सिद्धान्तले भन्छ कि अपराध प्रमाणित नहुँदासम्म जोसुकै व्यक्तिमाथि निर्दोषको व्यवहार हुनुपर्छ । उमाथिको कानूनी प्रक्रिया बेग्लै पाटो हो, तर कम्तिमा समाजले चाहीँ उसलाई अपराधिको व्यवहार गरिहाल्नु हुँदैन । सन्दीप बन्द प्रशिक्षणमा फर्किँदा राष्ट्रिय टिमका खेलाडीहरुलार्ई समस्या भएको छैन । सबैले सामान्यरुपमा लिएर सन्दीपसँगै अभ्यास गरिरहेका छन् । समस्या उनीहरुलाई भएको छ, जसले विदेशी संघसस्थाहरुबाट ‘डोनेसन’ लिएर महिलावादको गन्दा धन्दा चलाइरहेका छन् । जसका लागि महिलाका मुद्दाहरु मागीखाने भाँडो हुन् । अनि भीडको पछि लाग्न अभ्यस्त नेपाली राजनीतिका केही एटेन्सनसिकरहरु उनीहरुकै पछिपछि कुदिरहेका छन् । योभन्दा बिडम्बना के होला ?