काठमाडौं । रवि लामिछानेको सांसद पद अदालतले खारेज गरिदिएपछि एउटा कोणबाट चर्चा चलाइएको छ- चुनावमा पहिलो हुने उम्मेदवार ‘अयोग्य’ ठहरिएपछि दोस्रो हुनेलाई स्वतः विजयी घोषणा गर्नुपर्छ । यद्यपि, यस्तो व्यवस्था कानूनमा छैन ।
चितवन-२ मा लामिछाने भारी मतले विजयी हुँदा दोस्रो भएका थिए कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठ । यी दुई उम्मेदवारबीच झण्डै ३५ हजारको मतान्तर थियो, जुन देशभरमै सबैभन्दा धेरै हो । तेस्रो स्थानमा एमालेका कृष्णभक्त पोखरेल थिए ।
रविको आँधीमा बढारिएका कांग्रेस उम्मेदवार श्रेष्ठलार्ई अहिले फेरि झिनो आशा पलाएको छ । विजयी उम्मेदवारलाई अदालतले अयोग्य मानेपछि आफू स्वतः विजयी घोषणा हुनसक्ने आधारहरू उनी खोजिरहेका छन् ।
एउटा हाइड्रोपावर उद्घाटन गर्न बझाङ पुगेका श्रेष्ठ भोलि काठमाडौं फर्किँदैछन् । काठमाडौं पुगेर तत्काल आफूले यो विषयमा परामर्श थाल्ने श्रेष्ठले बताए । पार्टीका नेताहरू र आफ्ना वकिलहरूसँग परामर्श गरेर निर्णयमा पुग्ने उनको भनाई छ ।
nepalpress