काठमाडौं : नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाइ हुने भएको छ। मुद्दाको पेशी सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा तोकिएको छ।
गत मंगलबार सन्दीपलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गर्दै दिइएको निवेदनको पेशी आजलाई तोकिएको हो। उच्च अदालत पाटनले पुस २८ गते लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेश बदर गरिदिएको थियो।
उनलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। उनका अनुसार लामिछानेलाई विदेश जान रोक लगाइएको छ।
काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई जबर्जस्ती बलात्कार गरेको भन्दै एक १७ वर्षीय किशोरीले प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन्।