विराटनगर : लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर) ओसारपसार गर्न भरियाको प्रयोग गरेको आरोपमा नेपाल प्रहरीका सहायक हवल्दार विराटनगरबाट पक्राउ परेका छन्।
भारतको जोगवनीबाट नेपालतर्फ खैरो हेरोइन भित्राउन भरियाको प्रयोग गरेको खुलेपछि विराटनगर महानगरपालिका-१४ मा बस्दै आएका सहायक हवल्दार ३१ वर्षीय अमरनाथ यादव पक्राउ परेका हुन्।
वडा प्रहरी कार्यालय विराटनगर दरबन्दी भएका यादव विराटनगरस्थित प्रदेश १ प्रहरी कार्यालयमा कार्यरत थिए। लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले मंगलबार दिउँसो ३:२० बजेतिर विराटनगर-१३ झमेली चोकबाट उनलाई पक्राउ गरेको हो।
प्रदेश प्रहरी प्रवक्ता एसपी नवीनराज राईका अनुसार सुरुमा खैरो हेरोइनसहित विराटनगर-१५ का २० वर्षीय नजाम खान पक्राउ परेका थिए।
खानतलासी गर्दा खानको साथबाट १ सय २० मिलिग्राम खैरो हेरोइन बरामद भएको थियो। एसपी राईका अनुसार सोधपुछका क्रममा खानले उक्त लागूऔषध प्रहरी सहायक हवल्दार यादवले जोगवनीबाट ल्याउन लगाएको बताए। त्यसलगत्तै यादवलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याइएको जानकारी उनले दिए।
खान र यादवविरुद्ध इलाका प्रहरी कार्यालय रानीले थप अनुसन्धान अघि बढाएको छ। लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन दुवै जनाविरुद्ध बुधबार अदालतबाट म्याद थप गरिएको एसपी राईले बताए। उनले अनुसन्धानपछि थप विषय पत्ता लाग्ने जानकारी दिए।
त्यस्तै विभिन्न लागूऔषधसहित विराटनगर-१६ हुलास चोकबाट २ जनालाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको छ। शंकास्पद हिसाबमा भारतबाट नेपालतर्फ पैदल नै आउँदै गरेका सुनसरीको धरान उपमहानगरपालिका-१३ का २० वर्षीय शुक्र भुजेल र १९ वर्षीय पवन अधिकारीलाई पक्राउ गरिएको एसपी राईले बताए।
उनका अनुसार नियन्त्रणमा लिएर शरीर खानतलासी गर्दा भुजेल र अधिकारीको साथबाट लुपिजेसिक, एभिल, फेनारगन र डाइजापाम गरेर १ सय ४० एम्पुल लागूऔषध बरामद भएको छ।
दुवै जनाविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन इलाका प्रहरी कार्यालय रानीले बुधबार म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको छ।