काठमाडौं । शरीर आलस्य भयो, काममा ऊर्जा र जाँगर चलेन । यस्तो बेला स्पा गए हुन्छ नि भनेर साथीभाइले सुझाउने गरेको सुन्नुभएको होला । शरीर र दिमागलाई आराम दिने उद्देश्यले देशका प्रमुख सहरमा स्पा सेन्टर थुप्रै खुलेका छन् ।
कहिले पनि स्पा नगएकाहरुलाई लाग्न सक्छ आखिर त्यहाँ के हुन्छ ?
स्पा सेन्टरमा आयुर्वेदिक मसाज थेरापी, हाइड्रोथेरापी, फेसियल, मेनीक्योर, पेडीक्योर, एरोमाथेरापी र एक्युपन्चरसहित विभिन्न सुविधा उपलब्ध गराइन्छ । पछिल्लो समय स्पा सेन्टरहरुले ध्यान, योग पनि समावेश गर्ने गरेका छन् ।
शारीरिक तथा मानसिक स्वास्थ्य लाभ लिन स्पा जरुरी रहेको थेरापिस्टहरु बताउँछन् ।
शरीरलाई आराम दिन, तनावलाई मुक्त गर्न, स्पा थेरापीले रक्तसञ्चार राम्रो गराउन, ऊर्जा ल्याउन र आत्मबल बढाउने काम पनि स्पा थेरापीबाट हुने थेरापिस्टहरु सुझाउँछन् । अनलाइनखबरले काठमाडौंका यस्ता ६ स्पा सेन्टरलाई सूचीकृत गरेको छ, जहाँको सेवासुविधाले ग्राहकलाई लोभ्याउने गरेको छ ।
जेन स्पा, ठमेल
सम्पर्क : ०१-४७००७००
ठमेलमा रहेको जेन स्पा १२ वर्षअघि खुलेको हो । अनुभवी तथा तालिमप्राप्त महिला तथा पुरुष थेरापिस्टले यहाँ सेवा प्रदान गर्छन् । स्पाका सञ्चालक समेत रहेका अकुपन्चर तथा मसाज थेरापिस्ट रामदेव महतोका अनुसार व्यस्त जीवनशैलीका कारण दिनभरको थकान, तनाव, शरीरको दुखाइ हटाउनेदेखि अनुहारलाई सुन्दर बनाउन स्पा जरुरी छ ।
उनको स्पामा मसाज, फेसियल, बडी ट्रिटमेन्ट, अकुपन्चर, वाक्सिङ, मेनीक्योर, पेडीक्योर, मसाजमा शिरोधारा, एरोमा थेरापी, ट्रेकर्स मसाज, थाई मालिस हेड मसाज, डिपटिस्यु, हिमालय साल्ट स्टोन, हिमालय हर्बल हार्मोनी मसाज उपलब्ध छन् । त्यसबाहेक स्लिम बनाउने, स्किन चम्काउने र नरम बनाउने बडी ट्रिटमेन्ट छ ।
नेपाली जडिबुटीलाई प्रवद्र्धन गर्ने हिसाबले नेपालमै उत्पादित जडिबुटीबाट बनेको हिमालयन साल्ट र कफी स्कर्बबाट सेवा प्रदान गरिने महतो बताउँछन् । जुन बजार र अन्य स्पामा नपाइने उनी बताउँछन् । पुरुषदेखि महिलाको लागि फेसियल उपलब्ध छ ।
‘स्वास्थ्य उपचारमा एसियाली परम्परागत अभ्यासहरू दुई हजार वर्ष पछाडि जान्छन् । हामी यी प्रमाणित विधिहरूलाई स्वच्छता (सफा ) र सेवाको पश्चिमी मापदण्डहरूसँग संयोजन गरी सेवा प्रदान गर्दै आइरहेका छौं,’ उनले सेवाका जानकारी दिंदै भने, ‘स्पा टोलीको नेतृत्व एक्युपन्चर, शियाचु र आयुर्वेदिक चिकित्सा अभ्यासमा निपूर्ण र दर्ता भएका मास्टरद्वारा गरिन्छ । प्रत्येक जेन टोली सदस्यलाई विशेष उपचारमा प्रशिक्षित गरिएको छ ।’
एसियाली ज्ञान र कौशल तर पश्चिमीस्तरको सेवासुविधा प्रदान गर्दै आएको जेन स्पा नेपालको उत्कृष्ट स्पा सेन्टरमध्ये एक भएको महतो दाबी गर्छन् ।
यहँ सेवाअनुसार शुल्क तोकिएको छ । ‘ग्राहकले कस्तो सेवा लिने त्यसअनुसार दुई हजारदेखि नौ हजार रुपैयाँसम्मको सेवा सुविधा छ । चाहे अनुसार आधा घण्टादेखि ५ घण्टासम्म सेवा दिइन्छ,’ उनले भने । स्पामा ग्राहक आफैंले महिला र पुरुष दुवै थेरापिस्ट आफैं छानेर सेवा लिन सक्नेछन् ।
पछिल्लो समय स्पाका नाममा अन्य धन्दा पनि गरेर विकृति फैलाएकाले ग्राहकमा भ्रम सिर्जना भएको महतो बताउँछन् । ‘केही स्पा सञ्चालन गर्ने व्यवसायीहरुले स्पाका नाममा अनैतिक कार्य पनि गरिरहेका छन्,’ उनले भने, ‘यसले गर्दा राम्रो स्पाको नाम बदनाम भएको छ । यसलाई रोक्न सञ्चालकहरुको मानसिकता परिवर्तन हुनु जरुरी छ ।’
आर्या वेलनेस स्पा, बालुवाटार
बालुवाटारको खुर्सानीटारमा रहेको आर्या वेलनेस सेन्टरमा विभिन्न किसिमका स्पा सेवा उपलब्ध छन् । यहाँ आयुर्वेदिक मसाज, डिप टिस्यु, हिमालय मसाज, थाई मसाज, स्वीडिस मसाज, एरोमा थेरापी मसाज, हेड एण्ड सोल्जर मसाज, स्पाइनल मसाज, रिफेक्सलोजी, शिरोधारा, बडी स्क्रब र स्टिम एण्ड सौना वाथको सुविधा छ ।
त्यसबाहेक साउण्ड हिलिङको सेवा पनि उपलब्ध रहेको स्पा सेन्टरका स्पा सेन्टरका म्यानेजर प्रसुन पोखरेल बताउँछन् । आठदेखि १२ वर्षसम्मको अनुभव भएका थेरापिस्टहरु यहाँ ग्राहकको सेवामा तल्लीन रहन्छन् । कुनै ग्राहक साउना बाथमा एक्लै आए अरुलाई नमिसाउने पनि पोखरेल बताउँछन् ।
यो स्पा सेन्टरमा आयुर्वेदिक मसाजमा जडिबुटीको तेलबाट मसाज गरिन्छ । जसका लागि समयअनुसार ३ हजारदेखि ५ हजार रुपैयाँसम्म खर्चिनुपर्छ । डिप टिस्युको ३ हजार ५०० देखि ६ हजार, थाई मसाजको ३ हजार ५०० देखि ५ हजार ५०० रुपैयाँ, स्वीडिस मसाजको ३ हजारदेखि ५ हजारसम्म पर्छ ।
यसैगरी एरोमा थेरापी मसाज २ हजार ८०० देखि ४ हजार २००, हेड एण्ड सोल्जर मसाजको १ हजार ५०० देखि २ हजार, हट स्टोन मसाजको ५ हजारदेखि ७ हजार, स्पाइनल म्यासेजको १ हजार ५०० देखि २ हजार र शिरोधाराको ७ हजारदेखि ९ हजार रुपैयाँसम्म पर्न जान्छ ।