जुम्ला — चन्दननाथ नगरपालिका–१० का बिर्खबहादुर मल्ल दाँते ओखर बेच्न हरेक दिन सदरमुकाम खलंगा आइपुगेको भेटिन्छन् । प्रतिगोटा १० रुपैयाँमा ओखर बेच्दै आएका उनले एक महिनामै ८० हजार रुपैयाँ कमाइसकेका छन् । उनको बारीमा ७ वटा ओखरका बोट छन् ।
‘अझै ४०/५० हजारजतिका ओखर बिक्री गर्न बाँकी छ,’ उनले भने, ‘आगामी वर्ष २ लाख रुपैयाँसम्म कमाउने गरीे गोडमेलमा ध्यान दिएको छु ।’
उनका छिमेकी शंखुबहादुर खत्रीले आफ्नो बगैंचामा झन्डै एक हजार ओखरका बिरुवा रोपेका छन् । त्यसमध्ये ५० वटा बोटले मात्र उत्पादन दिइरहेको छ । जसबाट बर्सेनि ८ देखि १० लाख रुपैयाँसम्म कमाइरहेको उनले बताए । ‘दाँते ओखरको माग अत्यधिक छ, ओखर हुर्काउन पनि सहज छ,’ उनले भने, ‘तर जिल्ला बाहिर पठाउन भने समस्या छ, त्यसका लागि सरकारले पहल गर्न आवश्यक छ ।’ पछिल्लो समयमा जुम्लाका किसान बाँझो जमिनको उपयोग गर्दै ओखर खेतीमा आकर्षित भएका छन् । कसैले ओखरको बिरुवा बेच्छन् त केहीले ओखरको दाना बेचेर राम्रो आम्दानी गर्न थालेका छन् । ओखरका लागि जुम्ली हावापानी निकै अनुकूल छ । तर भण्डारणको व्यवस्थापन नहुँदा लामो समय राख्न सकिएको छैन । स्थानीय उमेश थापाले स्याउभन्दा ओखर हुर्काउन सजिलो भएको बताए । स्थानीय सरकारले किसानका लागि अनुदानको व्यवस्था गरेर ओखर खेतीमा लाग्न प्रेरित गर्नुपर्ने उनको भनाइ छ । ‘ओखर रोप्दाको वर्ष हेरचाहमा केही कठिन हुन्छ, पानी बोकेर सिँचाइ गर्नेदेखि नियमित रेखदेख गरिरहनुपर्छ,’ उनले भने, ‘जब ओखर हुर्कन्छ, तब ओखरले पैसा दिन थाल्छ, काँटछाँट र व्यवस्थापनमा मात्र ध्यान दिँदा राम्रो उत्पादन लिन सकिन्छ ।’ उनका अनुसार ओखरको एउटै झुप्पोमा १२ दानासम्म फल हुन्छ ।
पछिल्लो समय ओखर खरिद गर्न व्यापारीहरू गाउँमै आउन थालेका छन् । सदरमुकाम खलंगामा खोलिएका कोसेली घरहरूमा पनि ओखर बेच्न राखिएकाले बिक्रीमा समस्या नभएको स्थानीय किसानको भनाइ छ । जिल्ला बाहिर जानेहरूले नासोका रूपमा ओखर लैजाने चलन रहेको खलंगा कोसेली घरका सञ्चालक गोविन्द आचार्यले बताए । उनका अनुसार ओखर खेतीमा पछिल्लो समय किसानहरू हौसिएका छन् । उनले उत्पादन पनि बढ्दा अधिकतम माग परिपूर्ति गर्न सकिएको जानकारी दिए । ‘जुम्लाको ओखरको पहिचान छुट्टै छ,’ उनले भने, ‘मार्सी धान र स्याउपछि जुम्ली दाँते ओखरले बजार लिन थालेको छ ।’ उनले सुर्खेत, नेपालगन्ज, बुटवल, पोखरा, चितवन र काठमाडौंका बजारहरूमा ओखर पठाइरहेका छन् ।
जुम्लाको एक नगरपालिकासहित ७ वटै गाउँपालिकाका ६० वटै वडामा ओखर फल्छ । एक बोटमा ५ हजार दानासम्म फलाउन सकिने स्थानीय किसान चक्रबहादुर रावलले बताए । तातोपानी गाउँपालिकाका उनी दैनिकजसो ओखर बिक्री गर्न सदरमुकाम खलंगा आइपुग्छन् । उनले दैनिक ५ सय दानासम्म ओखर प्रतिदाना १० रुपैयाँमा बिक्री गरिरहेको बताए । ‘बेच्न ल्याएको ओखर नबिकेर फिर्ता लैजानुपरेको छैन्, आन्तरिक र बाह्य पर्यटकको रोजाइ नै ओखर हुन्छ, उनीहरू ओखर खान्छन् पनि लैजान्छन् पनि,’ उनले भने, ‘यसको जिल्ला बाहिर ब्रान्डिङ गर्न पनि जरुरी छ ।’
खलंगास्थित चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाले बर्सेनि ३५ क्विन्टलसम्म ओखर बाहिर पठाउने गरेको जनाएको छ । जिल्ला कृषि विकास कार्यालयका प्रमुख गणेशबहादुर अधिकारीले ओखर खेती जुम्लाको आर्थिक समृद्धिको आधार बन्न थालेको बताउँछन् । ‘ओखर खेती विस्तारमा हामीले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छौं, किसान पनि आफ्नो तरिकाले खेती विस्तारमा लागेको देखिन्छ,’ उनले भने, ‘स्याउजस्तै ओखर खेतीमा पनि जुम्लामा सुन्दर भविष्य जोडिएको छ ।’ जुम्लामा ५ सय ९० हेक्टरमा ओखर खेती भएको छ । ओखर असोजमा टिप्न उपयुक्त हुन्छ । हिउँदमा मलखादको व्यवस्थापन राम्रो गर्न नसके रोगकीराको संक्रमण नहुने उनले बताए ।
कान्तिपुर दैनिकबाट