गत शुक्रबार हङकङ विमानस्थलले एटिसीको निर्देशन नमानेर जोखिमपूर्ण अवतरण गरेको भन्दै कारबाही सिफारिस गरिएका तीन पाइलटमध्ये नरबहादुर विश्वकर्माले सफाइ पाएका छन्।
पाइलटहरू नरबहादुर विश्वकर्मा, राजेश कुशवाह र उद्धव घिमिरेलाई नागरिक उड्डयन प्राधिकरणले वायुसेवा निगमलाई कारबाही गर्न सिफारिस गरेको थियो। तर निगमका अनुसार पाइलट विश्वकर्मा सो उडानको क्रममा पाइलट र कोपाइलटको जिम्मेवारीमा नरहेकाले उनलाई सफाइ दिइएको हो।
पाइलटहरू कुशवाह र घिमिरे भने अहिले चलिरहेको अनुसन्धान अवधिभरका लागि ग्राउन्डेड भएका छन्। ग्राउन्डेड हुँदा हवाई नियम अनुसार अनुसन्धान अवधिभर पाइलटको उडानमा प्रतिबन्ध लगाइन्छ।
यसबारे निगमले अनुसन्धान गरेर प्राधिकरणलाई रिपोर्ट बुझाइसकेको निगमका सूचना अधिकारी गणेश कुमार घिमिरेले बताए।
‘निगमको अपरेसनल डिपार्टमेन्टले यसबारे अनुसन्धान गरेर प्राधिकरणमा रिपोर्ट बुझाइसकेको छ’, उनले भने।
तर उडानमा एटिसीको निर्देशन के थियो भन्नेबारे उनले खुलाएनन्।
अब प्राधिकरणको निर्णय अनुसार कारबाही अथवा सफाइ हुनेछ।
‘अवतरणका क्रममा के कारण त्यस्तो गल्ती भयो भन्नेबारे अध्ययन र अनुसन्धान गरी अपरेसनल डिपार्टमेन्टले रिपोर्ट बनाएर प्राधिकरणमा पेश गरिसकेको छ’ उनले सेतोपाटीसँग भने, ‘प्राधिकरणको निर्णयअनुसार आगामी दिनमा यी गल्ती नदोहोर्याउन लागि के गर्न सकिन्छ त्यही अनुसार अघि बढिन्छ।’
सँगै, काठमाडौंबाट जापान उडेको जहाजमा रहेका वाइपी ज्वार्चन र प्रसन्न रानालाई पनि एयर ट्राफिक कन्ट्रोल (एटिसी) को निर्देशन नमानेपछि प्राधिकरणले कारबाही गर्न सिफारिस गरेको थियो। यी दुई पाइलट पनि हाल ग्राउन्डेड छन्।