‘स्टार’ परिवारमा जन्मेका रणविर कपुरलाई ‘रक स्टार’ फिल्ममा ‘स्टार’ बन्न सिकाउने पियूष मिश्राले शुक्रबार साँझ भने आफू ‘स्टार’को चमकधमकबाट टाढै रहेको सुनाए ।
बलिउडमा गायक, कलाकार, कवि, लेखक र रंगकर्मीको परिचय बनाइसकेका मिश्रा आफ्ना नेपाली ‘फ्यान’का अगाडि गुजुमुज्ज परेको खैरो कुर्थाको चेपबाट छाति र गर्धन कन्याउँदै देखा परे । एक घण्टाको कार्यक्रमभरि उनले कुर्थाको खुल्ला टाँकाबाट हात छिराएर गर्धन र छाती कन्याइरहे
किताब जात्राको आतिथ्यतामा नेपाली दर्शक/श्रोतालाई सम्बोधन गर्न आइपुगेका मिश्राले अंग्रेजी भाषा नभइ हिन्दिमै सम्बोधन गर्ने इच्छा देखाए, ‘हिन्दी तो समझ ते हो ना ?’
‘समझ ते हैं ।’ खचाखच भरिएको प्रज्ञाप्रतिष्ठानको हलबाट एकै स्वरमा सुनियो ।
मञ्चमा मिश्राको इन्ट्री हुनु अगावै मिश्राको परिचयमा कवि तथा टेलिभिजन कार्यक्रम प्रस्तोता रुपेश श्रेष्ठले प्रसस्तै शब्द अंग्रेजीमा खर्चिसकेका थिए ।
मिश्राले आफ्नो अन्दाजमा परिच दिए, ‘मलाई मान्छेहरू राम्रो बोल्ने मान्छे भन्छन् । तर, म होइन् । म हरेक चिज थोरै-थोरै गर्छु । गाना, बजाना, एक्टिगं थोरै थोरै गर्छु ।’
भारत, मध्यप्रदेशको ग्वालियरमा सन् १९६३ मा जन्मिएका मिश्राले ८ कक्षा पढेदेखि नै नाटकमा अभियन गर्न सुरु गरेका थिए । सन् १९८३ मा भारतका चर्चित कलाकार उत्पादन गर्ने ‘नेशनल स्कुल अफ ड्रामा’ (एनएसडी)छिरेका मिश्रा १९८६ मै एनएसडीबाट पास आउट भइसकेका थिए ।
एनएसडीबाट पास भइसकेका अधिकांश विद्यार्थीले बलिउडमा आफ्नो भाग्य खोज्छन् । तर, मिश्राले भने २० वर्षसम्म एनएसडीको सेरोफेरो छाडेनन् । दिल्लीबाट मुम्बई सडक यात्रा गर्दा २४ घण्टा लाग्छ, हवाई यात्रा गर्दा सवा घण्टा तर, मिश्रालाई भने यो यात्रा तय गर्न २० वर्ष लाग्यो ।
सन् २००३ मा मात्र उनले राजधानी दिल्लीको एनएसडी छाडेर बलिउडको राजधानी मुम्बइको रेल समाते ।
बाध्यताले दिल्लीबाट मुम्बइको यात्रा गरेको सुनाए उनले । दर्दभरि कहानी पनि उनले अन्दाज ए हसिं तवरमा बयान गर्दै भने, ‘मनोज वाजपेयी लगायत मेरा साथीहरु स्टार भईसकेका थिए । दिल्लीमा मलाई भोक लाग्न थालेको थिए । थिएटर खुबै गरेको थिए तर, कमाएको केही थिइन ।’
‘पापी पेट पाल्न’ मुम्बई जानुपर्ने आफ्नो कारुण यथार्थमा हाँस्य रस मिसाउँदै भने, ‘हालातले मलाई बाध्य बनायो । पेटले भन्न थाल्यो पियूया मिश्रा भोक लाग्यो । पेटलाई भोक पनि लाग्दो रहेछ ।’